एप्पलले ७.९ इन्चको आइप्याड मिनीको उत्पादन बन्द गर्ने

काठमाडौं, ३ जेठ । करिब एक वर्षसम्म कुनैपनि अपडेट नभएको र सफ्टवेयरमा सपोर्ट नगरेको आइप्याड मिनीको उत्पादन बन्द हुने भएको छ ।

एप्पलले सन् २०१२ मा पहिलो पटक सार्वजनिक गरेको ७.९ इन्चको आइप्याड मिनीको उत्पादन बन्द गर्ने भएको हो । कम्पनीले पछिल्ला दिनहरुमा आइप्याडहरुको बिक्रीमा निकै कमी आएको उल्लेख गर्दै आइप्याड मिनी बन्द गर्न लागेको एक रिपोर्टमा बताईएको छ ।

तर एप्पलले आइप्याडका अन्य उत्पादनहरुलाई भने निरन्तरता दिने बताईएको छ ।

आइप्याड मिनी यसअघि ठूला, मोटा र भारी किसिमका आइप्याडको विकल्पको रुपमा सार्वजनिक गरिएको थियो । यो एप्पलको आइप्याड किन्न चाहनेका लागि सबैभन्दा तल्लो तहको अप्सनको रुपमा रहेको थियो ।

अब भने यो बजारमा छनौटको उत्कृष्ट विकल्पको रुपमा नभएको र यसको साइज आउट भएको भन्दै कम्पनीले आइप्याड मिनीको उत्पादन बन्द गर्ने रिपोर्ट बाहिर आएको छ । यसको उत्पादन बन्द गर्नुमा यसको न्यून बिक्रीको संख्यालाई आधार मानिएको छ ।

अहिले एप्पलले १२८ जीबीको आइप्याड मिनी ४ ३९९ अमेरिकी डलरमा उपलब्ध गराईरहेको छ भने एलटिईसहितको आइप्याड मिनी ५२९ अमेरिकी डलरमा बिक्री गरिरहेकोछ ।

केहि विश्लेषकहरुले भने आइप्याड मिनीको ठाउँमा एप्पलले आइप्याड मिनी प्रो ल्याउन लागेको अनुमान गरेका छन् ।

एप्पलले नयाँ आइप्याड सार्वजनिक गर्ने अनुमान गरिएको आगामी महिना हुन लागेको डब्लूडब्लूडिएस सम्म कुर्नपर्ने हुन्छ ।

माध्यम