नोकिया ३ स्मार्टफोन नेपाली बजारमा, मूल्य १५ हजार ६ सय ५० रुपैयाँ

काठमाडौं, ३० जेठ । नोकियाले छिमेकी मुलुक भारतमा आज तीन नयाँ स्मार्टफोन सार्वजनिक गर्ने चर्चा चलिरहँदा नोकियाले नेपाली बजारमा त्यो भन्दा पहिले नै नोकियाको स्मार्टफोन उपलब्ध गराएको छ ।

मोबाइल वर्ल्ड कंग्रेसबाट विश्व बजारमा सार्वजनिक भएको स्मार्टफोन नोकिया ३ हाल नेपाली बजारमा देखिएको छ । कम्पनीले नेपाल बिना कुनै तामझाम बजारमा नोकिया ३ स्मार्टफोन सार्वजनिक गरेको हो । हाल नोकिया ३ काठमाडौंका केहि सिमित रिटेल स्टोरहरुमा मात्र उपलब्ध रहेको छ ।

ललितपुर मोबाइल कम्प्लेक्सले नोकिया ३ स्मार्टफोन उपलब्ध रहेको जानकारी दिएको छ । कम्प्लेक्सका एक कर्मचारीले केहि दिनअघि मात्र नोकियाको डिस्ट्रिब्यूटरले फोन उपलब्ध गराएको र थोरै सेटमात्र रहेको मोबाइल्सखबरलाई बताए ।

आधिकारिक बितरक पारामाउन्ट इलेक्ट्रोनिक्स प्रा.लि.ले अनौपचारिकरुपमा नोकिया ३ स्मार्टफोन सार्वजनिक गरेको हो ।

कम्पनीले गएको शुक्रबारदेखि नेपाली बजारमा बिना कुनै हल्ला नोकिया ३ स्मार्टफोन उपलब्ध गराएको बताईएको छ ।

मोबाइल फोन ब्राण्ड नोकियाका मोबाइल नेपालमा बिक्री गर्ने आधिकारिक बितरक पारामाउन्ट इलेक्ट्रोनिक्स प्रा.लि.ले अनौपचारिकरुपमा नोकिया ३ स्मार्टफोन सार्वजनिक गरेको हो । कम्पनीले नोकियाका फोनहरुको माग धेरै भएको तर आपूर्ति निकै कम भएको भन्दै अनौपचारिकरुपमा नोकिया ३ बजारमा पठाएको एक अधिकारीले जानकारी दिए । कम्पनीले हाल करिब ५ सय सेटहरु मात्र आएको र सबै बजारमा पठाएको जानकारी दिएको छ तर बजारमा यसको माग करिब ४ हजारको हाराहारीमा रहेको दाबी गरेको छ ।

‘अहिले डिमाण्ड अत्यधिक छ तर सप्लाई निकै कम छ, नोकियाले पनि मिडियामा हल्ला नगरि बिक्री गर्न भनेको हुँदा हामीले आएको जति सबै सेट बजारमा पठायौं,’ उनले मोबाइल्सखबरसँग भने ।

कम्पनीकाअनुसार हाल काठमाडौंका मुख्य मुख्य बजार क्षेत्रहरुमा थोरै संख्यामा भएपनि नोकिया ३ उपलब्ध रहेको छ ।

कम्पनीले नोकिया ३ को बजार मूल्य भने १५ हजार ६ सय ५० रुपैयाँ तोकेको जानकारी दिएको छ ।

नोकियाको बितरक कम्पनी पारामाउन्टले सबै रिटेलरहरुलाई पुग्ने गरि २/३ वटा सेटहरु प्रत्येकलाई उपलब्ध गराएको जनाएको छ ।

‘हामीले सकेसम्म सबै रिटेलरहरुकोमा पुगोस र ग्राहकहरुको फिडब्याक आओस भनेर बितरण गरेका छौं,’ पारामाउन्टका अधिकारीले भने ।
हाल विश्वव्यापीरुपमा नै नोकियाका फोनहरुको माग अधिक रहेको तर आपूर्ति कम रहेको भन्दै मागअनुसारको सेटहरु आएपछि औपचारिकरुपमा नै बिक्रीको घोषणा गरिने कम्पनीको भनाई छ ।

भारतीय बजारमा पनि सिमित शहरका छानिएका रिटेल स्टोरहरुमा मात्र यी सेटहरु उपलब्ध गराउने जानकारी आएको ती अधिकारीले बताए ।

‘हामीले पनि औपचारिकरुपमा नै नोकिया आएको घोषणा गर्ने तयारी गरेका थियौं, तर सप्लाई कम भएको हुँदा कम्पनीलाई इन्फर्मल बिक्री मात्र गर्ने जानकारी गरायौं,’ ती अधिकारीले मोबाइल्सखबरसँग भने ।

आउँदो अगस्टमा मात्र नोकियाका सबै सेटहरु नोकिया ३, नोकिया ५ र नोकिया ६ उपलब्ध हुने

कम्पनीले नोकिया ३ को बजार मूल्य भने १५ हजार ६ सय ५० रुपैयाँ तोकेको जानकारी दिएको छ ।

कम्पनीले यसअघि नोकियाका सबै स्मार्टफोनहरु नेपालमा ल्याउने भने पनि आपूर्तिको कारण नोकिया ३ मात्र आएको जानकारी दियो ।

नेपालमा आउँदो अगस्टमा मात्र नोकियाका सबै सेटहरु नोकिया ३, नोकिया ५ र नोकिया ६ सहजरुपमा उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ ।

‘यसअघि नोकिया ३३१० आउँदा पनि हामीले केबल १००० पिस मात्र ल्याउन सक्यौं, त्यसैले कम्पनीले अगस्टदेखि भनेजति उपलब्ध गराउने हुँदा त्यसपछि सबै मोडलहरु आउँछ,’ पारामाउन्टका अधिकारीले बताए ।