नेपाल र चीन इन्टरनेट संजालमा एक अापसमा जोडिए

काठमाडौं, २६ पुस । नेपाल र चीन इन्टरनेट संजालमा एक अापसमा जोडिएका छन् । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल बीच क्रस बोर्डर अप्टिकल फाइबर लिङ्क शुरु भएसँगै छिमेकी मुलुक भारतसँग मात्रै रहेको  इन्टरनेटको निर्भरता हटेको छ ।

यसले  नेपाली इन्टरनेट प्रयोगकर्ताहरुलाई नयाँ विकल्प प्रदान गरेको छ । चीनसँग नेटवर्क जोडिएपछि इन्टरनेटमा भारतको एकाधिकार समेत तोडिनेछ ।

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल बीच क्रस बोर्डर अप्टिकल फाइबर लिङ्कको औपचारिक घोषणा यहि पुस २८ गते एक कार्यक्रमकाबीच हुँदैछ ।

नेपाल टेलिकमले चीनसँगको अन्तरदेशीय इन्टरनेट लिंकको सफल परीक्षण गरिसकेको छ । यसअघि नेपाल र चीनबीच इन्टरनेट कनेक्टिभिटीका लागि चाइना टेलिकम र नेपाल टेलिकमबीच व्यावसायिक सम्झौता भएको थियो ।

करिब एक वर्षअघि चीनसँग इन्टरनेट संजाल जोडिने बताइँदै आईएको थियो। तर छिमेकी मुलुक चीनतर्फ अप्टिकल फाईबरमा समस्या आएको कारण सो कार्यमा ढिलाई हुँदै आएको थियो ।

गत भदौमा नै सो इन्टरनेट सेवा संचालनमा ल्याउने तयारी टेलिकमले गरेको थियो । यसअघिदेखि नै परिक्षणमा रहेको सो इन्टरनेट नेटवर्क सेवा शुक्रबारदेखि भने व्यवसायीकरुपमा नै संचालन हुने टेलिकम स्रोतले जानकारी दियो ।

चीनबाट इन्टरनेट ल्याउने गरी व्यावसायिक सम्झौता भएको १ वर्षपछि चिनियाँ इन्टरनेट नेपालसँग जोडिएको हो । यसअघि नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच रसुवाको जिलोङहुँदै चीन र नेपाललाई स्थनीय केबुलमार्गबाट जोड्न नेपाललाई आइपी सर्भिस उपलब्ध गराउने गरि सम्झौता भएको थियो ।

सो इन्टरनेट नेटवर्क संचालनमा आएसँगै चीन हुँदै हङकङसँग इन्टरनेटमा आवद्ध हुन पनि यसले सहयोग गर्नेछ । चीनसँगको सम्झौताले उक्त क्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकहरुसँग जोडिन सहज हुने टेलिकमको भनाई छ ।

हाल टेलिकमले भारतीय कम्पनीहरु टाटा, एयरटेल, बीएसएनएल, भारत पन्जाव र रिलायन्सबाट इन्टरनेट ल्याइरहेको छ । भारतबाट ल्याइएको इन्टरनेट रक्सौल, भैरहवा र वीरगन्ज नाकाबाट अप्टिकल फाइबरमार्फत ल्याइएको छ।

Leave a Reply