मोटोरोला मोबाइल ब्राण्ड नेपाल आउँदै, २१ हजार रुपैयाँसम्मका स्मार्टफोन ल्याउने

काठमाडौं, २३ भदौ । यहि साता नेपाली बजारमा दुई नयाँ मोबाइल ब्राण्ड भित्रिएको साता हुन नपाउँदै विश्वको चर्चित मोबाइल ब्राण्ड मोटोरोला भित्रने तयारीमा छ ।

चर्चित ब्राण्ड मोटोरोलले नेपाली बजारमा चार मोडलका स्मार्टफोनहरुका साथमा आफ्नो उपस्थिती जनाउने भएको छ ।

अंग्रेजी अगस्ट महिनामा नै सार्वजनिक हुने तयारी भएपनि फोनहरु ढिला आएको कारण आगामी साता मोटोरोलाले औपचारिकरुपमा घोषणाा गर्ने भएको छ ।

नेपालमा लेनोभोको मोबाइलको आधिकारिक बितरक लाइफ कम प्रालिले नै मोटोरोला पनि भित्र्याउन लागेको हो ।

ताइवानी ब्राण्ड लेनोभोले अमेरिकी ब्राण्ड मोटोरोलाको मोबाइल फोन यूनिट किनेपछि लेनोभोले त्यसलाई पुन ब्राण्डिङ गरेर बिक्री गरिरहेको छ । त्यसैले नेपालमा पनि लेनोभोको बितरककले नै मोटोरोला बिक्री गर्न लागेको हो ।

कम्पनीका प्रबन्ध निर्देशक अमित अग्रवालले दशैं अगाडि नै बजारमा मोटोरोला फोनहरु उपलब्ध हुने जानकारी केहि दिन अगाडि मोबाइल्स खबरलाई दिएका थिए ।

‘हामीले अगस्तमा नै सार्वजनिक गर्ने तयारी गरिरहेको भएपनि विभिन्न कारणले हुन सकेन्, अब दशैं भन्दा अगाडि नै बजारमा उपलब्ध गराउछौं र आक्रामकरुपमा बजार बिस्तार गर्छौै,’ अग्रवालले मोबाइल्स खबरसँग भने ।

कम्पनीले पहिलो चरणमा चारवटा मोडलहरु सार्वजनिक गर्ने उनले बताए ।

मोटोरोलाले मोटो सी, मोटो सी प्लस, मोटो इ फोर, मोटो इ फोर प्लस मोडल बजारमा ल्याउनेछ । कम्पनीले यी फोनहरुको अधिकतम बजार मूल्य पनि तोकिसकेको छ ।

मोटोरोलाको मोटो सीको मूल्य १० हजार ९ सय ९९ रुपैयाँ तोकेको छ, भने मोटो सी प्लसको मूल्य १३ हजार ९ सय ९० रुपैयाँ कायम गरेको छ । त्यसैगरि मोटो इ फोरको मूल्य १६ हजार २ सय ९० रुपैयाँ राखिएको छ भने हालको लागि सबैभन्दा महंगो मूल्य मोटो इ फोर प्लसको २० हजार ९ सय ९० रुपैयाँ तोकेको छ ।

‘कम्पनीको तर्फबाट मोटोरोला मोबाइल ब्राण्डको बजार हेरिरहेका काैशल देवले बजारमा मोटोरोलाले नयाँ रणनीतिसहित जाने बताए । अहिले चारवटा मोडल अाएपनि हामी भारतीय बजारमा सार्वजनिक भएसँगै मोटोरोलाका फोन नेपालमा ल्याउने गरी काम गरिरहेका छौं,’ उनले भने ।

कम्पनीले आगामी दिनमा मोटोरोलाको माग हेरेर महंगा मोडलहरु पनि भित्र्याउने योजना लिएको छ ।