चीनिया कम्पनी जियाओमीले चीनमा सामसुङलाई उछिन्यो

काठमाडौं, २० साउन । एजेन्सी । चीनको स्मार्टफोन बजारमा विश्वकै ठूलो स्मार्टफोन निर्माता कम्पनी सामसुङलाई चीनियाँ कम्पनी जियाओमीले उछिनेको छ । बजार अनुसन्धान फर्म क्यानालिसले चालू वर्षको दोस्रो त्रैमासिक अवधिमा जिआयोमीले १ करोड ५० लाख स्मार्टफोन बिक्री गरेको जनाएको छ । यो गत वर्षको समान अवधिको तुलनामा झन्डै तीन गुणाभन्दा बढी हो ।

कम्पनीले सस्तो मोबाइल फोन रेडमी रेन्जका कारण कम्पनिको दोस्रो त्रैमासमा २४० प्रतिशतको बिक्रीमा वृद्धि भएको अनुसन्धान समूह क्यानालिसले स्पष्ट पारेको छ । यसका साथै जियाओमीले विश्वको स्मार्टफोन बजारको कुल १४ प्रतिशत हिस्सा लिन सफल भएको छ प्रतिवेदनमा उल्लेख छ । जेभएता पनि चीनको सेवा प्रदायक कम्पनिहरुका कारण एप्पलको बिक्रीमा सुधार आएको छ ।

सोमबार सार्वजनिक गरिएको प्रतिवेदनका अनुसार एप्पलले ५८ प्रतिशतको सुधार दर्ता गरेकोछ । चाइना मोबाइलको फोरजी सेवाका कारण एप्पलको उच्च मुल्यको स्मार्टफोनको बिक्रीमा सुधार भएको बताइएकोछ ।

क्यानालिसले गत वर्ष सामसुङको चीनमा १ करोड ५५ लाख स्मार्टफोन बिक्री गरेकोमा यो वर्ष १ करोड ३२ लाख मात्रै बिक्री गरेको जनाएको छ । यद्यपि युरोप र उत्तर अमेरिकी बजारमा भने जियाओमीलाई कमै मात्र उपभोक्ताले नाम सुनेका छन् । तर चीनमा भने उसको बिक्री उत्साहजनक रुपमा वृद्धि भइरहेको छ ।

यो अवधिमा स्मार्टफोनको लागि चीन विश्वकै ठूलो बजारको रुपमा स्थापित भएको छ। विश्वमा बिक्री हुने प्रत्येक १० स्मार्टफोनमा ४ चीनमा हुने गरेको छ ।चीनमा स्मार्टफोन बिक्री गर्ने शीर्ष १० कम्पनीमा सामसुङ र एप्पल मात्रै विदेशी कम्पनी हुन् । शीर्ष १० मध्ये अन्य कम्पनीहरु चिनियाँ नै छन् ।