नेपाल टेलिकमको सेवा सुधार गर्न प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

Technology Khabar १४ बैशाख २०७५, शुक्रबार

नेपाल टेलिकमको सेवा सुधार गर्न प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

काठमाडौं ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमलाई सेवा सुधार गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले नेपाल टेलिकमको सेवालाई व्यवस्थित, प्रभावकारी, उपभोक्तामैत्री एवं गुणस्तरीय बनाउन निर्देशन दिएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार टेलिकमको प्रगति विवरण सुनेपछि प्रधानमन्त्री ओलीले नेपाल टेलिकमको सेवालाई प्राथमिकतामा राख्न निर्देशन दिए।

प्रधानमन्त्री ओलीले टेलिकमभित्र मुसा वा मुसा प्रवृत्तिले सेवा अवरुद्ध हुने अवस्था आउनु दुःखद् रहेको उल्लेख गर्दै भने, ‘टेलिकमभित्र यस्ता प्रवृत्ति हावी भएको देखिन्छ । यसको अन्त्य हुनुपर्छ र जनताले स्तरीय सेवा पाउनुपर्छ ।’

प्राविधिक शाखामा २४ सै घण्टा सेवा कर्मचारी खट्नुपर्ने र त्यस्ता शाखामा कर्मचारीको समय तालिका मिलाएर एकछिन पनि खाली नगर्न प्रधानमन्त्रीले निर्देशन दिए।

प्रधानमन्त्री ओलीले टेलिकमले गरिरहेको अप्टिकल फाइबरको कामप्रति असन्तुष्टि जनाएका थिए ।

‘यस कामका बारेमा गुनासा आएका छन् । यसको काम जहाँ पुगेको छ त्यहीँ रोक्नुहोस्, यसका बारेमा थप बुझेपछि कसरी अगाडि बढ्ने छलफल गरौँला,’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री ओलीले टेलिकमलाई प्रतिष्पर्धामा अगाडि आउने गरी तयारी गर्न निर्देशन दिए ।

‘टेलिकम प्रतिष्पर्धामा पछाडि पर्ने लक्षण देखिएका छन्, त्यस्तो हुनु भएन । सेवामा सुधार गर्नुहोस्,’ उनले भने ।

छलफलमा प्रधानमन्त्रीका मूख्य सल्लाहकार विष्णु रिमाल, सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटा, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलगायतको उपस्थिति रहेको थियो ।

माध्यम

easy care

प्रकाशित: १४ बैशाख २०७५, शुक्रबार