मोबाइल वालेटमा २५ हजार भन्दा बढि राख्न नपाईने, भुक्तानीको सीमा ५ हजार रुपैयाँ

Technology Khabar ३ बैशाख २०७५, सोमबार

मोबाइल वालेटमा २५ हजार भन्दा बढि राख्न नपाईने, भुक्तानीको सीमा ५ हजार रुपैयाँ
फाइल

काठमाडौं ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिगमार्फत हुने भुक्तानीको सीमा तोकेको छ । राष्ट्र बैंकले आइतवार एक निर्देशन जारी गर्दै मोबाइल बैकिंगमार्फत एक पटकमा भुक्तानी गर्दा ५ हजार रुपैयाँसम्म र अधिकतम एक दिनमा १० हजारसम्म भुक्तानी गर्न पाईने नियम ल्याएको हो ।

राष्ट्र बैंकले विद्युतीय प्रणालीबाट गरिने कारोबार बारे निर्देशन जारि गर्दै एक महिनामा ५० हजारसम्म मात्र मोबाइल बैंकिङमार्फत भुक्तानी गर्न पाइने सीमा तोकेको हो ।

राष्ट्र बैंकको निर्देशनअनुसार इन्टरनेट बैंकिङमार्फत भुक्तानी गर्दा दैनिक एक लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने छ भने मासिकरुपमा ५ लाख रुपैयाँसम्म मात्र कारोबार गर्न पाइने छ।

इन्टरनेट बैंकिङमार्फत बैंक तथा वित्तीय संस्थाको खातामा नगद पठाउँदा अधिकतम १ लाख रुपैयाँ र मासिक १० लाख रुपैयाँसम्म मात्र पठाउन सकिनेछ।

यसका साथमा भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको इवालेट, मोवाइल वालेट, डिजिटल वालेटहरुमा नगदै वा ट्रान्सफर गरी जम्मा गर्न सकिने ब्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।

एजेन्ट र सव एजेन्टद्धारा एक पटकमा अधिकतम ५ हजारसम्म, एक दिनमा १५ हजारसम्म र मासिक २५ हजार रुपैयाँसम्म जम्मा गर्न सकिने व्यवस्था गरेको छ।

बैंकमार्फत मोबाइल वालेटमा एक पटकमा कम्तिमा १०० र अधिकतम ५००० हजार रुपैयाँसम्म जम्मा गर्न पाइने छ। दैनिकरुपमा अधिकतम १५ हजार रुपैयाँसम्म मात्र जम्मा गर्न पाइने छ।

बैंकहरुमा रहेको खाताबाट भुक्तानी सेवा प्रदायक संस्थाहरुले सञ्चालन गरेको वालेटमा त्यही दिन भुक्तानी गर्ने प्रयोजनका लागि एक पटकमा ५० हजार रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने निर्देशनमा उल्लेख छ। तर मोबाइल वालेटमा २५ हजार रुपैयाँभन्दा बढि नगद राख्न पाइने छैन।

मोबाइल वालेटमा सीमा तोके पनि सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नु पर्ने कर, राजश्व, जरिवाना तथा दस्तदुरलगायतका शुल्कहरु बील बमोजिमको भुक्तानी गर्न मिल्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

easy care

प्रकाशित: ३ बैशाख २०७५, सोमबार