दूरसंचार प्राधिकरणद्धारा ३ अर्ब ४ करोड फ्रिक्वेन्सी दस्तुर संकलन, कुन कम्पनीले कति तिरे

Technology Khabar ३ बैशाख २०७५, सोमबार

दूरसंचार प्राधिकरणद्धारा ३ अर्ब ४ करोड फ्रिक्वेन्सी दस्तुर संकलन, कुन कम्पनीले कति तिरे

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले चालु आर्थिक वर्ष २०७४/०७५ को फागुन मसान्तसम्म ३ अर्ब रुपैयाँ भन्दा बढि फ्रिक्वेन्सी दस्तुर असुल गरेको छ । प्राधिकरणले यो आर्थिक वर्ष सकिन अझै चार महिना बाँकी रहँदा नै अघिल्लो आवको भन्दा १ अर्ब रुपैयाँ भन्दा बढि फ्रिक्वेन्सी दस्तुर संकलन गर्न सफल भएको हो ।

चालु आर्थिक वर्षको फागुन मसान्त सम्म प्राधिकरणले ३ अर्ब ४ करोड ११ लाख २९ हजार २ सय ६३ रुपैयाँ फ्रिक्वेन्सी दस्तुर बापत विभिन्न टेलिकम अपरेटरहरुका साथै फ्रिक्वेन्सी प्रयोग गर्ने सेवा प्रदायक कम्पनीहरुबाट संकलन गरेको छ ।

अघिल्लो आव २०७३/०७४ को वार्षिक संकलन निकै कम रहेको थियो । प्राधिकरणले अघिल्लो आवमा कुल २ अर्ब ३४ करोड १२ लाख ६१ हजार ३ सय ५० रुपैयाँ ९६ पैसा फ्रिक्वेन्सी दस्तुर उठाएको थियो भने यो वर्ष सकिन अझै ४ महिना बाँकी हुँदा नै १ अर्ब भन्दा बढि दस्तुर उठाएको हो ।

एनसेल प्रालि

चालु आबमा हालसम्म सबैभन्दा धेरै फ्रिक्वेन्सी दस्तुर एनसेल प्रालिले तिरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । एनसेलले कुल १ अर्ब ४१ करोड ३९ लाख ६० हजार ४ सय ७० रुपैयाँ ६५ पैसा फ्रिक्वेन्सी दस्तुर बापत बुझाएको छ ।

सो तथ्यांकअनुसार एनसेलले १ अर्ब ९ करोड ७९ लाख रुपैयाँ भन्दा बढि रकम चालु आव २०७४/०७५ मा ९ सय, १८ सय, मेगा हर्ज ब्याण्डको प्रविधि तटस्थताको दस्तुर, २१ सय मेगाहर्ज ब्याण्डको न्यूनतम फ्रिक्वेन्सी दस्तुर, माइक्रोवेभ फ्रिक्वेन्सीको दस्तुर, तथा अघिल्लो वर्षको टूजी न्यूनतम फ्रिक्वेन्सीको दस्तुर बापतको रकम भुक्तानी गरेको हो ।

एनसेलले आव २०७४/०७५ को ८ सय, ९सय, १८ सय, २१ सय र २३ सय मेगाहर्ज ब्याण्डको अग्रिम फ्रिक्वेन्सी दस्तुर बापत मात्रै ९९ करोड ८४ लाख रुपैयाँ प्राधिकरणलाई तिरेको छ भने ९ सय र १८ सय मेगाहर्ज ब्याण्डको प्रविधि तटस्थताको दस्तुर तथा २१ सय मेगाहर्ज ब्याण्डको न्यूनतम फ्रिक्वेन्सी दस्तुर बापत मात्रै १ अर्ब २ करोड रुपैयाँ प्राधिकरणमा बुझाएको छ।

नेपाल टेलिकम

त्यस्तै एनसेलपछि सबैभन्दा धेरै फ्रिक्वेन्सी दस्तुर बुझाउने टेलिकम कम्पनीमा नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम) रहेको छ ।

लिकमले चालु आव २०७४/०७५को फागुन मसान्तसम्ममा कुल १ अर्ब १८ करोड रुपैयाँ विभिन्न फ्रिक्वेन्सी दस्तुर बापत बुझाएको छ ।

नेपाल टेलिकमले सेलुलर अर्थात ८ सय, ९सय, १८ सय, २१ सय र २३ सय मेगाहर्ज ब्याण्डको अग्रिम फ्रिक्वेन्सी दस्तुर बापत मात्रै १ अर्ब ९ करोड ७९ लाख रुपैयाँ भन्दा बढि रकम बुझाएको हो । टेलिकमले भीस्याट/अर्थ स्टेशन फ्रिक्वेन्सी दस्तुर बापत प्राधिकरणलाई आव २०७४/०७५मा ४१ हजार ६ सय रुपैयाँ बुझाएको छ भने माइक्रोवेभ फ्रिक्वेन्सी दस्तुर बापत ९ करोड ५ लाख ७८ हजार रुपैयाँ तिरेको छ ।

स्मार्ट टेलिकम प्रालि

स्मार्ट टेलिकमले आव २०७३/०७४ को थप तथा अधिकतम फ्रिक्वेन्सीको दस्तुर(थप दस्तुरसहित) ५० करोड रुपैयाँ प्राधिकरणलाई तिरेको छ भने सोहि आवको माइक्रो वेभ फ्रिक्वेन्सीको दस्तुर बापत १ करोड १४ लाख, १० हजार रुपैयाँ बुझाएको छ । सोहि आवको जीएसएम न्यूनतम फ्रिक्वेन्सीको दस्तुरबापत स्मार्ट टेलिकमले ३४ लाख ८८ हजार रुपैयाँ भन्दा बढि दस्तुर प्राधिकरणलाई बुझाएको बिबरणमा उल्लेख छ ।

यूनाइटेड टेलिकम (यूटिएल) प्रालि

हाल आंशिक सेवा मात्र संचालन गरिरहेको यूनाइटेड टेलिकम (यूटिएल) ले कुल १९ करोड ५१ लाख ६४ हजार रुपैयाँ बराबर फ्रिक्वेन्सी दस्तुर बापत फागुन मसान्त सम्म प्राधिकरणलाई तिरेको छ । जसमध्ये यूटिएलले आव २०७३/०७४ को ८ सय, ९सय, १८ सय मेगाहर्ज व्याण्डको थप तथा अधिकतम फ्रिक्वेन्सीको बाँकी दस्तुर तथा ६ महिनाको थप दस्तुर बापत मात्रै १९ करोड ४८ लाख रुपैयाँ भन्दा बढि बुझाएको छ भने बाँकी रकम आव २०७३/०७४ को न्यूनतम फ्रिक्वेन्सी दस्तुर बापतको रकम हो ।

सिजी कम्यूनिकेशन प्रालि

सिजी कम्यूनिकेशन प्रालिले पनि फ्रिक्वेन्सी दस्तुर बापतको पहिलो किस्ता रकम प्राधिकरणलाई बुझाएको छ । यसअघि सिमित क्षेत्रमा सेवा संचालनको अनुमति पाएर पछि बन्द रहेको र हाल यूनिफाइड लाइसेन्स लिने तयारीमा रहेको कम्पनीले प्राधिकरणलाई ५ करोड ८५ लाख ८४ हजार ३ सय ७७ रुपैयाँ ६० पैसा फ्रिक्वेन्सी दस्तुर बापतको पहिलो किस्ता रकम बुझाएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

टेलिकम अपरेटरहरु सबैभन्दा धेरै फ्रिक्वेन्सी दस्तुर तिर्ने कम्पनीहरुमध्ये रहेका छन भने हालसम्म कुल १२ वटा कम्पनीहरुले फ्रिक्वेन्सी दस्तुर बुझाएका छन् ।

प्राधिकरणका सम्बन्धित अधिकारीकाअनुसार यो वर्ष दस्तुर धेरै संकलन हुनुमा प्रविधि तटस्थताको मुख्य योगदान रहेको छ।

‘यो वर्ष हामीले विभिन्न मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थताअनुसार कम्पनीहरुलाई फ्रिक्वेन्सी दिएको हुँदा दस्तुर पनि वृद्धि भएको हो,’ उनले भने । चालु आर्थिक वर्ष सकिन अझै समय बाँकी रहेको हुँदा यस्तो दस्तुर अझै बढ्ने उनको भनाई छ ।

easy care

प्रकाशित: ३ बैशाख २०७५, सोमबार