टेलिकमले पायो प्रविधि तटस्थताअन्तरगत २३०० सय ब्याण्ड फ्रिक्वेन्सीको अनुमति

Technology Khabar १२ चैत्र २०७४, सोमबार

टेलिकमले पायो प्रविधि तटस्थताअन्तरगत २३०० सय ब्याण्ड फ्रिक्वेन्सीको अनुमति
फाइल

काठमाडौं ।

अनुज राज । काठमाडौं, १२ चैत । नेपाल दूरसंचार प्राधिकरणले नेपाल टेलिकमलाई प्रविधि तटस्थताअन्तरगत २३०० ब्याण्डको फ्रिक्वेन्सी प्रयोगको अनुमति दिएको छ । प्राधिकरणले टेलिकमलाई फोरजी समेत चलाउन सक्नेगरि नयाँ फ्रिक्वेन्सीको अनुमति दिएको हो ।

टेलिकमले यसअघि सो फ्रिक्वेन्सी वाईम्याक्स प्रविधि संचालन र सेवामा प्रयोग गर्दै आएकोमा हाल टेलिकमले प्रविधि तटस्थताअन्तरगत  मोबाइल सेवा संचालन गर्ने गरि अनुमति दिएको हो ।

प्राधिकरणले टेलिकमलाई सो फ्रिक्वेन्सीमा प्रविधि तटस्थताअन्तरगत सेवा संचालनका लागि चैत १ गते नै अनुमति दिएको प्राधिकरणले जानकारी दिएको छ । टेलिकमले सो ब्याण्डमा ३० मेगाहर्जको फ्रिक्वेन्सी प्रयोग गर्नका लागि अनुमति पाएको छ ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले टेलिकमले यसअघि नै फोरजी एलटिई सेवा संचालन गर्न २३०० ब्याण्डको फ्रिक्वेन्सी माग गरेको हुँदा सोहिअनुसार प्राधिकरणले अनुमति दिएको जानकारी दिए ।

‘अहिले टेलिकमले वाइम्याक्समा प्रयोग गरिरहेको फ्रिक्वेन्सी नै प्रविधि तटस्थताअन्तरगत प्रयोग गर्न अनुमति दिएको हो, अब कम्पनीले त्यसमा फोरजी मोबाइल सेवा संचालन गर्न सक्दछ,’ प्रवक्ता अर्यालले मोबाइल्सखबरसँग भने ।

प्रवक्ता अर्यालकाअनुसार २३०० व्याण्डमा टेलिकमले फ्रिक्वेन्सी प्रयोगको अनुमति सैद्धान्तिक सहमति दिएको र कम्पनीले रोलआउट प्लान दिएपछि मात्र सेवा संचालन गर्न पाउनेछ ।

टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले अनुमति प्राप्त भएको चिठी आएको र कार्ययोजना प्रस्तुत गरेपछि मात्र सेवा शुरु हुने जानकारी दिईन् ।

‘अहिले हामीले वाइम्याक्स सेवा मात्र संचालन गरिरहका छौं, अब भने यो फ्रिक्वेन्सीमा फोरजी र वाइम्याक्स दूबै चलाउने व्यवसायीक योजना पेश गर्नेछौं र सेवा शुरु गर्नेछौं,’ उनले मोबाइल्सखबरसँग भनिन् ।

नेपाल टेलिकमले सो फ्रिक्वेन्सी प्रयोग गरे बापत प्रति मेगाहर्ज ९० लाख रुपैयाँ वार्षिक फ्रिक्वेन्सी दस्तुर तिर्नुपर्ने छ । रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले २३०० ब्याण्डमा सो फ्रिक्वेन्सी दस्तुर तिर्नुपर्ने निर्णय गरेअनुसार न्यूनतम सो दस्तुर तिर्नुपर्ने प्राधिकरणले जानकारी दिएको छ ।

Global Bank
easy care

प्रकाशित: १२ चैत्र २०७४, सोमबार