ग्यालेक्सी एस९ तथा एस९ प्लस नेपालमा निकै सस्तो पर्छ- प्रणय रत्न स्थापित, प्रमुख, सामसङ नेपाल

Technology Khabar २९ फाल्गुन २०७४, मंगलवार

ग्यालेक्सी एस९ तथा एस९ प्लस नेपालमा निकै सस्तो पर्छ- प्रणय रत्न स्थापित, प्रमुख, सामसङ नेपाल

काठमाडौं ।

काठमाडौं । सामसङले नेपाली बजारमा सोमबार मात्रै ग्यालेक्सी एस ९ तथा एस ९ प्लस (Galaxy S9 and S9 Plus) सार्वजनिक गरेको छ । कम्पनीले दुबै फोनहरु प्रि-बुकिङको लागि उपलब्ध रहेको जानकारी समेत दिएको छ ।

 

नयाँ फोनहरुमा विभिन्न विशेषताहरु रहेको र अन्तराष्ट्रिय बजारमा भन्दा सस्तो मूल्यमा भित्र्याएको सो फोनहरु नेपाली प्रयोगकर्ताहरुले मनपराउने कम्पनीले अपेक्षा गरेको छ । यसै विषयमा सामसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितसँगको कुराकानी ।

 

अन्य मोबाइलको तुलनामा सामसङ एस ९ र एस ९ प्लस कुन रूपमा भिन्न छ ?

हरेक वर्ष सामसङले दुईवटा ‘फ्ल्यागसिप डिभाइस’ लन्च गर्दै आएको छ । त्यही सिलसिलामा हामीले अहिले एस–९ र एस–९ प्लस ल्याएका छौँ । यस क्रममा सामसङले आफ्नो पछिल्लो प्रविधि सार्वजनिक गर्ने गरेको छ । क्यामेरा, प्रोसेसर, डिस्प्लेलगायतमा सामसङले पछिल्लो (लेटेस्ट) प्रविधिलाई समावेश भएको एस ९ र एस ९ प्लस ग्लोबल लन्चको लगत्तै नेपालमा पनि सार्वजनिक गर्न सफल भएका छौँ । नेपाली उपभोक्ताहरूले यसलाई रुचाउनेमा हामी पूर्णतः विश्वस्त छौँ ।

म्यासेज र कल गर्ने मात्रै भन्दा पनि अन्य उपकरणको सहायताले गर्नुपर्ने कामहरूसमेत मोबाइलबाटै गर्न चाहनेहरूका लागि यी फोनहरू लक्षित गरेर ल्याइएको हो । जसबाट प्रतिसेकेन्ड ९ सय ६० मोमेन्टमा भिडियो खिच्न सक्छ । उदाहरणका लागि कुनै सामान खस्दै छ भने त्यसको फोटो लिन सक्छ ।

यस्तै गरी कम प्रकाशमा पनि स्पष्ट फोटो खिच्न सक्ने १ दशमलव ५ एपार्चरको प्रयोग गरिएको छ । त्यो अहिलेसम्म कुनै पनि मोबाइलमा प्रयोग गरिएको लेन्सभन्दा ठूलो हो । त्यसले गर्दा एकदम अँध्यारो अवस्थामा पनि गुणस्तरीय तथा चम्किलो फोटो खिच्न सक्छौँ । यसका अलावा हामीले अहिलेसम्म कुनै पनि स्मार्टफोनमा प्रयोग नभएको डुअल एपार्चरको प्रयोग एस ९ र एस ९ प्लसमा प्रयोग गरेका छौँ । जसमा एउटा एपार्चर १ दशमलव ५ र अर्को दुई दशमलव ४ को रहेको छ । यसले प्रकाशको अवस्थाअनुसार काम गर्छ ।

नेपालमा दुवै स्मार्टफोनका लागि कति मूल्य तोकिएको छ ?

हामीले एस ९ को मूल्य ९२ हजार ९ सय रुपैयाँ राखेका छौँ । यसैगरी, एस ९ प्लसको १ लाख चार हजार ९ सय रुपैयाँ राखिएको छ । तर, कुनै पनि ग्राहकले पसलमा गएर किन्दा ५ हजार रुपैयाँको तत्काल नगद छुट पाउनेछन् । जसले गर्दा एस ९ को मूल्य ८७ हजार ९ सय रुपैयाँ हुन आउँछ । यस्तै गरी एस ९ प्लसको ९९ हजार ९ सय रुपैयाँ पर्नेछ ।

कुनै छुट तथा अफर छ ?

हामीले यी दुवै डिभाइसको सोमबारदेखि अग्रिम बुकिङ खुला गरेका छौँ । मार्च १२ देखि मार्च २२ को बीचमा जसले अग्रिम बुकिङ गराउनेछन्, उनीहरूले सामसङको एउटा वायरलेस चार्जर र ५ हजार रुपैयाँको निःशुल्क कुपन पनि पाउनेछन् । जसको माध्यमबाट ग्राहकले सामसङका जुनसुकै उत्पादनहरू किन्नका लागि प्रयोग गर्न सकिन्छ । त्यसबाहेक हामीले एनसेलसँगको सहकार्यमा १२ हप्ताका लागि १२ हजार एमबी डाटा निःशुल्क रूपमा उपलब्ध गराइनेछ । यस्तै, एक वर्षको टुटफुट हुँदाको बिमा सुविधा पनि दिइनेछ । जसमा शिखर इन्स्योरेन्सको साथ रहेको छ ।

त्यसबाहेक हामीले अरूसँग पनि सहकार्य गरेका छौँ । टर्किस एयरलाइन्सको सहकार्यमा लक्की ड्रमार्फत एकजनालाई विश्वव्यापी रूपमा टिकट, काठमाडौं गेस्ट हाउसको ग्रुप अफ होटेलमा दुई रातका लागि पोखरामा रिसोर्टमा बस्न पाउने व्यवस्था पनि गरिएको छ । त्यसबाहेक बाँकी दुईजनालाई गियर प्रो पनि दिँदै छौँ । यसबाहेक हामीले विभिन्न सेवा तथा उत्पादनमा लागू हुने गरी छुट कुपनसमेत उपलब्ध गराइनेछ ।

हामीले नेपालका लागि तोकिएको मूल्य अन्य कुनै पनि मुलुकमा भन्दा सस्तो बनाएका छौँ । दुवै मोबाइल नेपालमा खरिद गर्नेलाई १ सयदेखि १ सय ५० डलर सस्तो पर्न आउँछ । यस आधारमा हामी के अनुरोध गर्न चाहन्छौँ भने सामसङका फ्ल्यागसिप डिभाइस अन्यत्रभन्दा नेपालमा सस्तो पर्न आउँछ ।

नेपालको सन्दर्भमा मूल्य बढी नै देखिन्छ । यस हिसाबले उच्च वर्गका बाहेक अन्य उपभोक्ताले खरिद गर्न चाहेमा कुनै विकल्प छ कि ?

अवश्य पनि हामीले मध्यम वर्गका उपभोक्ताले पनि हाम्रा उत्पादनहरू प्रयोग गर्न सकुन भनेर छुट्टै व्यवस्था गरेका छौँ । हामीले जुन किसिमका फिचरहरू उपलब्ध गराएका छौँ, त्यसको बजारमा अहिले अर्को कुनै पनि विकल्प छैन । त्यस हिसाबले ती उत्पादनको मूल्य केही महँगो त छ नै । मध्यम वर्गीय उपभोक्ताका लागि विभिन्न सातवटा बैंकसँग सहकार्य गरेका छौँ । जसमा उपभोक्ताले सजिलो प्रक्रियाबाट ऋण लिएर पनि खरिद गर्न सक्छन् ।

स्रोत

easy care

प्रकाशित: २९ फाल्गुन २०७४, मंगलवार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार