फेसबुकले बालबालिकाहरुका लागि ल्यायो ‘मेसेन्जर किड्ज’ एप

काठमाडौं १९ मंसिर । विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकमा अब बालबालिकाको पहुँच सहज हुने भएको छ ।

१३ वर्षभन्दा कम उमेरका बालबालिकाले पनि फेसबुक चलाउन पाउने भएका छन् । यस अघि उमेरका आधारमा १३ वर्षभन्दा बढी उमेर भएकाले मात्रै फेसबुक चलाउन पाउँथे ।

यसका लागि अभिभावकले नै नियन्त्रण गर्न सक्ने म्यासेञ्जर एप ‘मेसेन्जर किड्ज’ (Messenger Kids) कम्पनीले लञ्च गरेको छ । म्यासेञ्जर किड्ज छुट्टै फेसबुक वा म्यासेञ्जर एकाउन्ट भने होइन । यो त अभिभावककै हाल संचालनमा रहेको एकाउन्टको एक्सटेन्शन मात्रै हो ।

यस एपमा यूजरले अभिभावकसँग मात्रै नभएर अभिभावकले मञ्जुरी दिएका साथीभाइसँग च्याट समेत गर्न सक्नेछन् । यसमा केटाकेटी आफैले फ्रेण्डलाई लिष्टबाट हटाउने वा म्यासेज डिलेट गर्न पाउँदैनन् । यो काम तिनका अभिभावकले मात्रै गर्न सक्नेछन् ।

सो एप अमेरिकामा सोमवार सार्वजनिक भएको छ । हाल यो एप एप्पलको डिभाइसका लागि मात्रै उपलब्ध भएको र आइफोन, आइप्याड र आइपड टचमा मात्रै चलाउन सकिने कम्पनीले बताएको छ । आउँदा दिनमा यो एप एण्ड्रोइड र एमाजनको ट्याबलेट भर्जन पनि आउने बतार्इएको छ ।

यो एप बालबालिकाको फोन वा ट्याबलेटमा डाउनलोड गर्न सकिनेछ, त्यसमा उनीहरुका लागि प्रोफाइल सिर्जना गरेर साथीभाईहरुलाई अप्रुभ गर्न सकिने सुविधा छ ।

फेसबुकले बालबालिकाहरुको लागि भनेर नै बालबालिकामैत्री जीआईएफ सेयरिंग इन्जिन भर्सन बनाएको छ भने बालबालिकाको लागि विशेष मास्क र स्टीकरहरु समेत तयार पारेको छ ।

यो एपबाट फेसबुक चलाएपनि बालबालिकाहरुलाई फेसबुक सर्चमा पत्ता लगाउन सकिँदैन्, जसले उनीहरुको गोपनियता सुरक्षित राख्न सकिने बताईएको छ ।

यदि एप चलाउने बालबालिकाहरुले कुनै विषय वा कन्टेन्टको बारेमा रिपोर्ट गरेमा त्यसको नोाटिफिकेसन अभिभावकको फेसबुकमा आउने छ तर उनीहरुको आफ्नो एपमा भने देखिने छैन् ।

मेसेन्जर किड्ज एप चलाउने तरिका भिडियोमा हेरौं ।