नोकियाका फोन अब नेपालमै किन्न पाइने, यस्तो छ नोकियाको मूल्य योजना

Technology Khabar १३ बैशाख २०७४, बुधबार

नोकियाका फोन अब नेपालमै किन्न पाइने, यस्तो छ नोकियाको मूल्य योजना

काठमाडौं ।

काठमाडौं, १३ वैशाख । नोकिया भन्ने बित्तिकै धेरैजसो मोबाइल प्रयोगकर्ताहरुको मनमा निकै कौतुहलता हुने गर्दछ । कुनै समय मोबाइल बजारमा एक छत्र राज गरेको नोकिया (Nokia) पुन बजारमा छाउने तयारीमा रहेको छ ।

पछिल्लो दिनमा नोकियाका फोनहरु एचएमडी ग्लोबलले उत्पादन गर्दै बजारीकरण गरिरहेको छ । जून विश्व बजारमा हाल सार्वजनिक भएपछि चीनमा मात्र उपलब्ध रहेको छ । नोकियाका सार्वजनिक भएका विभिन्न स्मार्टफोनहरु नेपाली बजारमा पनि आउने तयारीमा रहेका छन् ।

नेपाली बजारमा नोकियाले फिचर फोनसहित विभिन्न स्मार्टफोनहरु ल्याउने तयारी गरेको छ । नेपालमा नोकियाका स्मार्टफोनहरु आधिकारिकरुपमा पारामाउन्ट इलेक्ट्रोनिक्स प्रालिले जूनको पहिलो साता अर्थात जेठ महिनाको चाैथो साता भित्र्याउन लागेको हो ।

नोकियाको चर्चित फीचर फोन नोकिया ३३१० (Nokia 3310) का साथमा नोकिया थ्री (Nokia 3), नोकिया फाइभ (Nokia 5), र नोकिया सिक्स (Nokia 6) स्मार्टफोन जून महिनामा सार्वजनिक गर्दैछ ।

पारामाउन्टले नेपालमा नोकियाको चर्चित फीचर फोन नोकिया ३३१० (Nokia 3310) का साथमा नोकिया थ्री (Nokia 3), नोकिया फाइभ (Nokia 5), र नोकिया सिक्स (Nokia 6) स्मार्टफोन जून महिनामा सार्वजनिक गर्दैछ । नोकिया ३,५ र ६ एन्ड्रोयडमा आधारित फोनहरु हुन् ।

कम्पनीले यसको लागि नेपाल दूरसंचार प्राधिकरणबाट टाइप अप्रुभलको अनुमति लिईसकेको छ भने बजारमा आउने तयारी गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत आशिष जिन्दालले मोबाइल्सखबरलाई जानकारी दिए । हामीले टाइप अप्रुभलको अनुमति पाईसकेका छौं, र जूनको पहिलो साता बजारमा उपलब्ध गराउनेछौं, उनले भने ।

कम्पनीकाअनुसार हालसम्म फोन उपलब्ध नभएपनि विश्वबजारमा सार्वजनिक हुने समयमा नै नेपालमा पनि सार्वजनिक हुनेछ । हामीले अन्य बजारमा फोन उपलब्ध हुने समयमा नै उपलब्ध गराउनेछौं,’ उनले भने, ‘नेपाल र भारतमा एकै दिनमा नोकियाका फोनहरु सार्वजनिक हुनेछन् ।‘
उनकाअनुसार नेपाली बजारमा र भारतीय बजारमा नोकियाको फोनको मूल्यमा कुनै फरक हुनेछैन् ।

यस्तो हुनेछ नोकिया फोनको नेपाली मूल्य

नोकियाले सार्वजनिक गर्ने फीचर फोन ३३१० तथा नोकिया ३, नोकिया ५ र नोकिया ६ स्मार्टफोनको मूल्यको बारेमा पनि जिन्दालले मोबाइल्सखबरलाई जानकारी दिए ।

उनकाअनुसार नोकिया ३३१० सबैभन्दा सस्तो फोनको रुपमा आउनेछ । यसको मूल्य करिब ५३ सय रुपैयाँको हाराहारीमा हुनेछ ।

स्मार्टफोन तर्फभने सबैभन्दा सस्तो नोकिया ३ को मूल्य रहेको छ । तर यो मूल्य पनि १५ हजार रुपैंया भन्दा माथि रहेको छ ।

जिन्दालकाअनुसार नोकिया ३ को नेपाली बजारमा मूल्य १६ हजार रुपैंया हुनेछ भने नोकिया ५ को मूल्य २२ हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरि सबैभन्दा माथिल्लो तहमा आउने नोकिया ६ स्मार्टफोनको मूल्य भने २६ हजार रुपैयाँ हुने उनले जानकारी दिए । ‘हामी ग्राहकहरुलाई सूपथ मूल्यमा नोकियाका फोनसेटहरु उपलब्ध गराउनेछौं,’ उनले भने, ‘अन्य बजारमा जस्तै मूल्य यहाँ पनि तोकिनेछ ।’

कम्पनीले नयाँ आर्थिक वर्षदेखि फोनको मूल्यमा वृद्धि हुनसक्ने भन्दै ग्राहकहरुलाई त्यो भन्दा अगाडि नै नोकिया खरिद गर्न पनि आग्रह गरेको छ । ‘नेपालमा नयाँ आर्थिक वर्ष शुरुभएपछि मूल्य केहि बढ्न सक्ने संभावना छ,’ जिन्दालले मोबाइल्सखबरसँग भने, ‘त्यसैले नोकिया फोन किन्न चाहने ग्राहकहरुले त्यो भन्दा अगाडि नै किन्दा ठिक हुन्छ ।’

नोकिया ३ (Nokia 3) को विशेषताहरु

यो फोनमा ५ इन्चको आईपीएस एलसिडी टचस्क्रीन डिस्प्ले रहेको छ, जसको पिक्चर रिजोल्यूशन ७२०x१२८० पिक्सेल छ । यसमा कोर्निंग गोरिल्ला ग्लासद्धारा सुरक्षित बनाईएको छ ।

एन्ड्रोयड नूगट ७.० भर्सनमा आएको यो फोनमा १.४ गीगाहर्जको क्वाड कोर मिडियाटेक एमटि ६७३७ प्रोसेसर राखिएको छ । फोनमा २ जीबीको र्याम तथा १६ जीबीको आन्तरिक स्टोरेज रहेको छ भने यसलाई बढाउन सकिन्छ ।

फोटोका लागि यसमा ८ मेगापिक्सेलको रियर क्यामरा तथा फ्रन्ट क्यामरा राखिएको छ । यसमा झिक्न नमिल्ने नन रिमुभेवल २,६५० एमएएच ब्याट्री प्याक रहेको छ ।

नोकिया ५ (Nokia 5) को विशेषताहरु

नोकिया ५ स्मार्टफोनमा ५.२ इन्चको आईपीएस एलसिडी टचस्क्रीन डिस्प्ले रहेको छ, जसको पिक्चर रिजोल्यूशन ७२०x१२८० पिक्सेल छ । यसमा कोर्निंग गोरिल्ला ग्लासद्धारा सुरक्षित बनाईएको छ ।

एन्ड्रोयड नूगट ७.१.१ भर्सनमा आएको यो फोनमा १.४ गीगाहर्जको अक्टा कोर क्वालकम स्न्यापड्रागन ४३० प्रोसेसर राखिएको छ । फोनमा २ जीबीको र्याम तथा १६ जीबीको आन्तरिक स्टोरेज रहेको छ भने यसलाई बढाउन सकिन्छ ।

फोटोका लागि यसमा ड्यूल एलईडी फ्ल्याशसहित १३ मेगापिक्सेलको रियर क्यामरा तथा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यसमा झिक्न नमिल्ने नन रिमुभेवल ३,००० एमएएच ब्याट्री प्याक रहेको छ ।

नोकिया ६ (Nokia 6) को विशेषताहरु

यो फोनमा ५.५ इन्चको आईपीएस एलसिडी टचस्क्रीन डिस्प्ले रहेको छ, जसको पिक्चर रिजोल्यूशन १०८०x१९२० पिक्सेल छ । यसको डिस्प्लेलाई कोर्निंग गोरिल्ला ग्लास ३ द्धारा सुरक्षित बनाईएको छ ।

एन्ड्रोयड नूगट ७.१.१ भर्सनमा आएको यो फोनमा १.४ गीगाहर्जको अक्टा कोर क्वालकम स्न्यापड्रागन ४३० प्रोसेसर राखिएको छ । फोनमा ३ जीबीको र्याम तथा ३२ जीबीको आन्तरिक स्टोरेज रहेको छ भने यसलाई बढाउन सकिन्छ । त्यस्तै अर्को फोनमा ४ जीबी र्याम तथा ६४ जीबीको आन्तरिक स्टोरेज छ ।

फोटोका लागि यसमा १६ मेगापिक्सेलको रियर क्यामरा तथा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यसमा झिक्न नमिल्ने अर्थात नन रिमुभेवल ३,००० एमएएच ब्याट्री प्याक रहेको छ ।

नोकिया ६ स्मार्टफोनमा फिंगरप्रिन्ट सेन्सर पनि राखिएको छ भने यसमा अधिकांश सेन्सरहरु उपलब्ध छन् ।

नोकियाका सबै स्मार्टफोनहरुमा ब्लूटूथ, वाईफाई, एफएम रेडियो, माइक्रो यूएसबी २.० भर्सन राखिएको छ ।

यसअघि नोकियाले एन्ड्रोयडमा आधारित स्मार्टफोनहरु चीनियाँ बजारमा मात्र उपलब्ध गराएको थियो ।

यो पनि हेर्नुहोस्-

नोकियाका फोनहरु सार्वजनिक, यस्तो छ ‘नोकिया ३३१०’ फोन

easy care

प्रकाशित: १३ बैशाख २०७४, बुधबार