सामसंग ग्यालेक्सी एस ८ तथा एस ८ प्लस आउँदै, नेपाली बजारमा यस्तो छ योजना

Technology Khabar ३ बैशाख २०७४, आईतवार

सामसंग ग्यालेक्सी एस ८ तथा एस ८ प्लस आउँदै, नेपाली बजारमा यस्तो छ योजना

काठमाडौं ।

काठमाडौं, ३ वैशाख । सामसंगको फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लस नेपाली बजारमा आउने तयारीमा रहेको छ ।

सामसंग नेपालले यी स्मार्टफोनहरु नेपाली बजारमा यहि मे महिनाको पहिलो सातामा बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीसँग नजिक स्रोतकाअनुसार नेपाली बजारमा संभवत यहि सातादेखि प्री-बुकिंग शुरु हुनेछ भने मे महिनामा यो बजारमा उपलब्ध हुनेछ । संभवत यो साताको मध्यदेखि नै प्री-बुकिंग हुने स्रोतले जानकारी दिएको छ ।

स्रोतकाअनुसार हालसम्म कम्पनीले नेपालको लागि भनेर फोन नै पठाएको छैन् । यहि साता प्राविधिक परिक्षणका लागि सिमित सेटहरु पठाउने स्रोतको भनाई छ ।

सामसंगले यसको प्री बुकिंगमा ग्राहकहरुलाई विभिन्न किसिमको अफर पनि दिने तयारी गरेको छ । यसअघि सामसुंगले ग्यालेक्सी एस सेभेन तथा सेभेन एजको बुकिंगमा पनि ग्यालेक्सी गियरलगायतका विभिन्न सामाग्रीहरु प्री बुकरलाई दिईएको थियो । संभवत यो पटक पनि त्यस्तै सामाग्रीहरु प्री बुकरलाई दिईने बताईएको छ । ‘प्री बुकिंगमा स्पेशल गिफ्ट हुन्छ नै नत्र प्री बुकरहरुले किन प्री बुक गर्छ र ? तर अझै के दिने भनेर छलफल भईरहेको छ,’ स्रोतले बतायो ।

टेलिकमसँग बण्डलिङ

सामसंगले यो पटक नेपाली सामसंग एस एट तथा एस एट प्लस खरिदकर्ताहरुको लागि विशेष योजना पनि ल्याउने योजनामा रहेको छ । कम्पनी स्रोतका अनुसार सामसंगले यो पटक नेपाल टेलिकमसँगको सहकार्यमा पहिलो पटक प्रीमियम सेटलाई बण्डलिङ गर्ने तयारी गरेको छ । ‘हामीले यो विषयमा कुरा गरिरहेका छौं तर अझै निश्चित भएको छैन्,’ स्रोतले जानकारी दियो ।

संभवत टेलिकमसँगको बण्डलिङमा ग्राहकहरुले डाटा तथा भ्वाइसमा विशेष सुविधाका साथै स्टलमेन्टमा भुक्तानी गर्ने सुविधा प्राप्त गर्ने अनुमान छ । सामसंगले यसअघि केहि वर्ष अघि सिडिएमए स्मार्टफोनहरुमा बण्डलिङ गरेर अनुभव लिईसकेको छ ।

कति होला मूल्य ?

सामसंगले विश्व बजारमा मार्च २९ तारिखमा सार्वजनिक गरेको ग्यालेक्सी एस ८ सिरिजमध्ये नेपाली बजारमा एस ८ प्लसलाई विशेष जोडका साथ बजारमा ल्याउने तयारी गरिएको छ । कम्पनीले ग्यालेक्सी एस एट प्लसको मूल्यलाई १ लाख रुपैंया भन्दा कम राख्ने प्रयास गरिरहेको छ, तर यो विषयमा निकै गंभिर छलफल भएको स्रोतको भनाई छ । ‘नेपाली बजारमा एस एट प्लसको मूल्य लाख रुपैंया भन्दा कम गर्ने प्रयासमा छौं,’ स्रोतले भन्यो, ९८ (९८,००० रुपैयाँ) को हाराहारीमा हुन सक्दछ ।’

यसअघि नै अन्तराष्ट्रिय बजारमा सार्वजनिक भएपछिको मूल्य हेर्दा यो स्मार्टफोनको मूल्य १ लाख रुपैयाँ भन्दा बढि हुनसक्ने अनुमान गरिएको थियो ।

नेपाली बजारमा निकै प्रतिक्षित स्मार्टफोनको रुपमा अहिले लिईने गरेको सामसंग ग्यालेक्सी एस ८ तथा एस ८ प्लस स्मार्टफोन बजारमा आधिकारिक रुपमा कहिले आउँछ त्यसको बारेमा हामी निरन्तर जानकारी दिने प्रयास गर्नेछौं ।

यसैबिच सामस‌ंग नेपालको आधिकारीक फेसबुक पेजमा कम्पनीले सामसंगको ग्यालेक्सी एस ८ तथा एस ८ प्लस स्मार्टफोन अनुमान गर्ने कन्टेस्ट अाजैदेखि शुरु गरेको छ । जसमा नयाँ फोनको मूल्यको बारेमा भन्नुपर्नेछ भने सहि जवाफ दिनेलार्इ गियर एस २ दिने बताइएको छ । यो योजना अप्रिल १८ तारिखसम्म राखिएको छ, यसको अर्थ कम्पनीले १९ तारिखमा फोन सार्वजिनक गर्ने अनुमान छ । यहि मितिमा भारतमा पनि यो फोन सार्वजनिक हुनेछ ।*अपडेट गरिएको ।

तपार्इ पनि उक्त कन्टेस्टमा सहभागी हुन चाहनुहुन्छ भने सामस‌ंग नेपालको पेजमा क्लिक गर्नुहोस् ।

ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लस

सामसंगको ग्यालेक्सी एस ८ मा ५.८ इन्चको तथा एस ८ प्लसमा ६.२ इन्चको कभ्र्ड सूपर एमोलेड डिस्प्ले राखिएका छन्, जसको रिजोल्यूशन १४४०x२९६० पिक्सेल रहेको छ । यसलाई गोरिल्ला ग्लास ५ द्धारा सुरक्षित गरिएको छ ।

क्यामरा

सामसंगको नयाँ फ्ल्यागशिप स्मार्टफोन एस ८ सिरिजमा १२ मेगापिक्सेलको रियर क्यामरा छ जसमा एफ १.७ अर्पाचर, ड्यूल पिक्सेल सेन्सर अटोफोकस, ओआईएस, तथा फोरके भिडियो रेकर्ड गर्ने क्षमता हुनेछ । यसमा सामसंगले लेजर अटोफोकस पनि प्रयोग गरेको छ । अर्कोतर्फ सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा छ, यसमा पनि अटोफोकस राखिएको छ ।

यसका साथै सामसंगले प्रयोगकर्ताको परिचान तथा आधिकारिकता पहिचानलाई तिब्र, सहज र भरपर्दो बनाउन आइरिस स्क्यानर पनि राखेको छ । सामसंगले आइरिस स्क्यानरका अलावा रियर फेसिंग फिंगरप्रिन्ट सेन्सर पनि राखेको छ, जसले विभिन्न एप्स खोल्न तथा बन्द गर्न सकिनेछ ।
सामसंगको नयाँ फोन आइपी ६८ प्रमाणपत्रसहित आउनेछ, जसमा धुलो तथा पानीबाट बचाउनका लागि डस्ट एण्ड वाटर रेसिस्ट्यान्स छ ।
ग्यालेक्सी एस ८ सिरिजमा स्टेरियो स्पिकरका साथमा ३.५ एमएमको हेडफोन ज्याक राखिएको छ भने यी फोनहरु एकेजी हेडफोनका साथमा उपलब्ध हुनेछन् ।

हार्डवेयर
ग्यालेक्सी एस ८ तथा एस ८ प्लसमा २.५ गीगाहर्जको अक्टा कोर एक्सनोज ८८९५ प्रोसेसर वा क्वालकम स्न्यापड्रागन ८३५ फरक फरक देशहरुका लागि हुनेछ । यो फोन ४ जीबीको र्याम तथा ६४ जीबीको यूएफएस २.० भर्सनको आन्तरिक स्टोरेजका साथ उपलब्ध हुनेछ । यसको स्टोरेज बढाउनका लागि माइक्रो एसडी कार्ड स्लट पनि छ, जसले २५६ जीबीसम्म सपोर्ट गर्दछ । चीन र कोरियामा भने ६ जीबी भर्सन पनि आउने बताईएको छ ।

ब्याट्री
सामसंगका दुबै फोनहरुमध्ये केहि भिन्नता छ भने त्यो ब्याट्री प्याकमा रहेको छ । सामसंगको नयाँ स्मार्टफोनलाई चलाउनका लागि एस ८ स्मार्टफोनमा ३,००० एमएएचको ब्याट्री तथा एस ८ प्लसमा ३,५०० एमएएचको ब्याट्री राखिएको छ । दुबै स्मार्टफोनहरुमा फास्ट वायरलेस चार्जिंग प्रविधि छ ।

सामसंगको ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लसमा स्टेरियो स्पीकर्स छन् । यस्तो स्पीकर यसअघि आइफोन सेभेन सिरिज, एचटिसी यू अल्ट्रामा प्रयोग भईसकेका छन् ।

कनेक्टिभिटी
यो विश्वको पहिलो स्मार्टफोन हो जसले १ गीगाबाइटको एलटिई सपोर्ट गर्दछ ।

कनेक्टिभिटीका लागि सामसंग ग्यालेक्सी एस ८ सिरिजमा ड्यूल ब्याण्ड गीगाबाइट वाईफाई, एलटिई, जीपीएस, ब्लूटूथ ४.२ भर्सन, एनएफसी, तथा एउटा यूएसबी टाइप सी पोर्ट पनि रहेको छ ।

डेक्स स्टेशन
कम्पनीले आधिकारिकरुपमा डेक्स स्टेशन विथ एक्टिभ कुलिंग ल्याएको छ, जसमा पूरै साइजका पोर्टहरु राखिनेछन् । यो स्टेशनले विण्डोज १० को डेस्कटप वा ल्यापटपमा फोनलाई सिधै कनेक्ट गराउनेछ ।

अपरेटिंग सिस्टम
सामसंग ग्यालेक्सी एस ८ तथा एस ८ प्लसमा एन्ड्रोयडको सबैभन्दा पछिल्लो अपरेटिंग सिस्टम एन्ड्रोयड नूगट ७.० भर्सन रहेको छ ।

बिक्सबी भच्र्यूअल असिस्ट्यान्स
सामसंगको नयाँ फ्ल्यागशिपमा अहिलेसम्मकै सबैभन्दा ठूलो परिवर्तन भनेको नयाँ बिक्सबी डिजिटल असिस्ट्यान्स हो, जून कम्पनीले केहि साता अघि मात्र प्रिभ्यू गरेको थियो । सामसंगले बिक्सबीलाई एप्समा समाहित गर्ने प्रयास गरिरहेको छ, जसले आवाजको सक्रियतामा इन्साइक्लोपेडिया प्रयोग गरेजस्तै हुनेछ । यसले सामसंगका इन्टरनेट अफ थिंग्सका लागि पनि प्रयोग हुने बताईएको छ, जून सन् २०२० सम्म सामसंगले अधिकांश उत्पादनहरुमा प्रयोग गर्नेछ ।

कलर अप्सन
सामसंगले ग्यालेक्सी एस ८ तथा एस ८ प्लस स्मार्टफोन विभिन्न कलर अप्सनमा सार्वजनिक गरेको छ । यो स्मार्टफोन मिडनाइट ब्ल्याक, कोरल ब्लू, म्यापल गोल्ड, अर्किड ग्रे, तथा आर्टिक सिल्भर कलर अप्सनमा आएको छ । यसका साथै कम्पनीले फोनको कलरका साथमा मिल्ने किसिमले एसेसरिजको कलर अप्सन पनि ल्याएको छ ।

easy care

प्रकाशित: ३ बैशाख २०७४, आईतवार