मोबाइल फाइनान्सिंगको अनुमति राष्ट्र बैंकले संयमित भएर दिने

काठमाडौं, ३ चैत । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले मोबाइल फाइनान्सिंग लागि स‌ंयम भएर मात्र अनुमति दिने बताएका छन् ।

बिहिवार आयोजित ‘मोबाइल फाइनान्सियल सर्भिसेजः अपच्र्यूनिटीज एण्ड च्यालेन्जेज’ विषय कार्यशालामा राष्ट्र बैंकले मोबाइल फाइनान्सियलका लागि हतारमा अनुमति दिएर पछि समस्याहरु आउन सक्ने भन्दै शुरुमा नै संयमित भएर अनुमति दिने उनले बताए । ‘एनटिएमा गएर अनुमति लिएपछि मात्र एनआरबीमा आए अनुमति दिन्छौं,’ उनले भने ।

डेपुटी गर्भनर श्रेष्ठले टेलिकम कम्पनीहरुलाई नै मोबाइल फाइनान्सिंगको अनुमति दिने भनेको नभई पहिले बैकिंग क्षेत्रलाई प्राथमिकता दिने बताए ।

मोबाइल फाइनान्सिंगको फाईदाहरुको बारेमा मात्र नहेरी यसको जोखिमको बारेमा पनि ध्यान दिनुपर्ने उनको भनाई थियो । ‘एनआरबीको मुख्य चासो भनेको सेटलमेन्ट कसरी हुन्छ भन्ने हो,’डेपुटी गर्भनर श्रेष्ठले भने, ‘यो सेवामा सेटलमेन्टको भूमिका बारे स्पष्ट उल्लेख हुनुपर्दछ ।’

कार्यक्रममा नेपाल बैंकर्स संघका उपाध्यक्ष किशोर महर्जनले नेपालमा मोबाइल बैंकिंग अझै नयाँ विषय भएको भन्दै नेपालमा यसको अथाह संभावना रहेको बताए । अहिले पनि ५० प्रतिशतभन्दा बढि बैंकका सेवाग्राहीहरुको मोबाइल बैंकिंगमा पहुँच रहेको उनले जानकारी दिए ।

त्यसैगरी नेपाल दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भेषराज कँडेलले यो सेवाले नेपाल, भारत र विशेषका मुलुकहरुमा भूक्तानीे संजालमा सहज हुने बताए ।