गूगलले सस्तो फोरजी स्मार्टफोन बनाउँदै, रिलायन्स जियोका साथमा फोरजी भीओएलटिई फोन ल्याउने

काठमाडौं, १ चैत । टेक कम्पनी गूगल र भारतीय टेलिकम कम्पनी रिलायन्स जियो मिलेर नयाँ फोरजी स्मार्टफोन ल्याउने तयारीमा रहेका छन् । भारतीय बजारलाई लक्षित गरेर गूगल र रिलायन्स जियोले संयुक्तरुपमा फोरजी भीओएलटिई (4G VoLTE) स्मार्टफोन ल्याउन लागेका हुन् ।

यसअघि रिलायन्स जियोले भारतको ग्रामिण क्षेत्रमा आफ्नो नेटवर्क बिस्तार गर्नका लागि फोरजी भीओएलटिईयुक्त फिचर फोन ल्याउने तयारी गरेको समाचारहरु आएका थिए । तर अहिले भने गूगलसँगको सहकार्यमा सस्तो स्मार्टफोन ल्याउने भारतीय मिडियाहरुले जनाएका छन् ।

रिपोर्टअनुसार रिलायन्स जियो र गूगलले मिलेर फोरजी स्मार्टफोन बनाउन लागेको र सो स्मार्टफोन सन् २०१७ को अन्त्यसम्ममा सार्वजनिक हुनेछ ।

गूगलको ब्राण्डिंगको सहयोगबाट रिलायन्स जियोको स्मार्टफोनको बिक्री राम्रो हुने र अधिक ग्राहकहरुसम्म पुग्न सकिने रिपोर्टमा बताईएको छ ।

सो स्मार्टफोनमा जियोको प्री-लोडेड एप्स पनि राखिनेछ ।

रिपोर्टअनुसार गूगल र रिलायन्स जियो भविश्यमा ल्याउने रिलायन्स जियो स्मार्ट टिभीको लागि पनि सफ्टवेयर तयार गरिरहेका छन् ।