एप्पलले तीन नयाँ आइफोन ल्याउने, आइफोन ८ मा ५.८ इन्चको ‘ओएलईडी’ डिस्प्ले

काठमाडौं, २५ फागुन । एप्पलले यो वर्ष तीनवटा नयाँ आइफोन सार्वजनिक गर्ने चर्चा बाहिर आएको छ । यी तीनवटा मध्ये एउटा ५.८ इन्चको ओएलईडी डिस्प्लेसहितको आइफोन ८ (iPhone 8) हुने बताईएको छ । कम्पनीले आफ्नो नयाँ फ्ल्यागशिपको नाम आइफोन एक्स राख्ने विभिन्न जानकारीहरु आएका छन् ।

एप्पलले आइफोन ८ का साथै आइफोन सेभेन एस (iPhone 7s) तथा सेभेन एस प्लस (iPhone 7s Plus) पनि सार्वजनिक गर्नेछ ।

जापानबाट अाएको रिपाेर्ट अनुसार एप्पलको आइफोन ८ मा बेजेललाई निकै पातलो तथा कम गरिनेछ ।

रिपोर्टकाअनुसार एप्पल ८ मा वायरलेस चार्जिंगको सुविधा हुनेछ भने यो फोनलाई अहिलेको सबैभन्दा उत्कृष्ट फोनको रुपमा बजारमा ल्याउनेछ ।

यो रिपोर्टअनुसार आइफोन ८ वा आइफोन एकसमा ५.८ को डिस्प्लेको मुनि फंगसन एरिया राखिनेछ भने निकै पातलो डिजाइनमा आउने छ । नयाँ आइफोन यसअघिको आइफोन सेभेन भन्दा अधिक मेमोरीका साथमा आउने छ ।

यसका साथै आइफोन ८ ले नयाँ बायोमेट्रिक प्रविधि प्रयोग गर्नेछ भने अल ग्लास डिजाइनमा आउने चर्चा छ । यसका साथै टच आइडिलाई डिस्प्लेमा नै समाबेश गरिने बताईएको छ ।

आइफोन ८ मा पनि आइफोन सेभेन प्लसको जस्तै ड्यूल क्यामरा हुनेछ भने यसमा अझ शक्तिशाली ब्याट्री प्याक हुने अनुमान गरिएको छ ।

तर पनि नयाँ आइफोनको बारेमा धेरै विषयहरु स्पष्ट भएका छैनन् ।

एप्पलको नयाँ आइफोन यसअघिका आइफोनको तुलनामा निकै महंगो हुने बताईएको छ, जसको मूल्य १,००० अमेरिकी डलर हुनेछ ।

एप्पलले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गर्ने नयाँ आइफोन निकै शसक्त हुने अनुमान गरिएको छ ।