नेपाल इन्भेष्टमेन्ट बैंकले तीन दशक पुरा गर्यो

काठमाडौं, १५ फागुन। नेपाल इन्भेष्टमेन्ट बैंकले तीन दशक पार गरेको छ । सन् १९८६ मा स्थापना भएको बैंकले भर्खरै फाइनान्सियल टाइम्स लण्डनबाट पाँचौं पटक ‘बैंक अफ द इयर’ को गरिमामय अन्तर्राष्ट्रिय पुरस्कार पाएको थियो भने नेपाल राष्ट्र बैंकद्धारा तोकिएको मितिभन्दा अगावै आठ अर्वको चुक्ता पूँजी पुराउने निजी क्षेत्रको पहिलो बाणिज्य बैक बन्न सफल भएको जानकारी दिएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्ना ४७ वटा शाखाहरू, दुईवटा एक्स्टेन्सन काउन्टर, ८४ वटा ए.टि.एम मेसिन र ४२ वटा शाखारहित संजालबाट ७ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ ।

गत आ.व.२०७२/७३ मा बैंकले ४ अर्ब १३ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो भने बैंकको खुद नाफा २ अर्व ५५ करोड रुपैयाँ थियो जुन अघिल्लो आ.व भन्दा क्रमश ३२.६ र ३० प्रतिशतले अधिक हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्व ५८ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको जानकारी दियो ।

दोस्रो त्रैमासीक सम्ममा चुक्ता पूँजी ८ अर्ब ७१ करोड रुपैयाँ रहेको छ भने शेयरधनी कोष १८ अर्ब रुपैयाँभन्दा बढी छ । बैंकको पूँजी पर्याप्तता अनुपात १४.२८ प्रतिशत छ भने बैंकले निस्क्रिय कर्जालाई ०.७० प्रतिशतमा सिमित पारेको बैकले जनाएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले सन् २०१०–११ देखि निरन्तर रूपमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्रेडिट रेटिङ एजेन्सी आइ.सि.आर.ए. नेपाल लिमिटेडबाट “क” वर्गको मान्यता प्राप्त गरिरहेको र बैंक अफ द इयर पाँचौँ पटक प्राप्त गर्ने नेपालको एक मात्र बैंक रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।