हिमालय एअरलाईन्स्को याङगुन, म्यानमारमा सिधा हवाई सेवा शुरु

काठमाडौं, १३ फागुन । हिमालय एअरलाईन्स्ले सफलतापूर्वक याङगुन, म्यानमारमा सिधा हवाई सेवा शुरु गरेको छ । करीव ३,००,००० नेपालीहरुलाई आफ्नो मातृभूमिसँग प्रत्यक्ष सम्बन्ध कायम गराई आपसी सम्बन्ध मजबुत तुल्याउने उदेश्यले म्यानमारको याङगुनमा उडान सुरु गरेको जनाएको छ ।

हिमालय एअरलाईन्सको चौथो गन्तव्य याङगुन, म्यानमारमा शुरु गरेको उडानले दुई शहरहरु बीचमा पर्यटन, व्यापार र लगानीका अवसर प्रबद्र्घन हुने अपेक्षा गरिएको छ ।

हप्ताको दुई दिन सोमबार र शुक्रबार सञ्चालन हुने यो सेवा, हिमालय एअरलाईन्स्ले करिव दुई दशक भन्दा बढीको अवधिपछि पुनस्थापित गरेको छ । म्यानमारका राजदूतावासका राजदूत ल्वीन आँ, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य र हिमालय एअरलाईन्स्का प्रशासन उपाध्यक्ष विजय श्रेष्ठ पनि म्यानमारको प्रथम उडानका यात्रुहरुसँगै सहभागी भएका थिए ।

कम्पनीका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले भने, ‘काठमाण्डौं-याङगुन हवाई यात्राको सुरुवातसँगै हिमालय एअरलाईन्स्ले नेपाल र म्यानमारका यात्रुवर्गहरुप्रति लक्षित गरी बढी छनोटका अवसहरु प्रदान गर्दै आफनो सञ्जाल क्रमशः अभिवृद्धि गर्दै लानेछ र आपसी सम्बन्ध विस्तार गर्नेछ ।’

कम्पनीले काठमाण्डौ-याङगुन-काठमाण्डौको लागि शुरुवाती टिकटदर रु. २९,६०० (राउण्ड ट्रिप) कायम गरेको जानकारी दियो ।

एअरलाईन्सले यूनिक एसिया ट्राभल्स एण्ड टुर्स कम्पनी लिमिटेडलाई म्यानमारको लागि जेनरल सेल्स एजेन्ट छनोट गरेको जनाएको छ ।