सामसंगको फ्ल्यागशिप फोन ‘ग्यालेक्सी एस ८’ अप्रिलमा आउने

काठमाडौं, १३ फागुन । सामसंगको नयाँ आउने फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ (Galaxy S8) सार्वजनिक हुने मिति बाहिर आएको छ ।

कम्पनीले निकै प्रतिक्षारत ग्यालेक्सी एस ८ सिरिजको स्मार्टफोन सबैभन्दा पहिले अमेरिकामा मार्च २९ तारिखमा प्रदर्शन गर्नेछ । कम्पनीले सो स्मार्टफोन बजारमा भने २१ अप्रिलमा मात्र सार्वजनिक गराउने छ । तर यो स्मार्टफोन कहिलेदेखि प्रिसेलका लागि आउने छ भन्ने अझै स्पष्ट गरेको छैन् ।

कोरियाबाट आएको समाचारअनुसार सामसंग इलेक्ट्रोनिक्सले शुरुवाती चरणमा ग्यालेक्सी एस ८ विश्वव्यापीरुपमा २१ अप्रिलमा सार्वजनिक गर्ने तथा आफ्नो गृहदेश दक्षिण कोरियामा भने एक सातापछि मात्र सार्वजनिक गर्नेछ ।

यसअघि कम्पनीले कोरियामा ६ अप्रिलमा प्रिसेल गर्ने तथा १४ तारिखमा मात्र सार्वजनिक गर्ने योजना बनाएको थियो । तर सामसंगले स्थीर आपूर्तिका लागि यसमा परिवर्तन गरेको बताईएको छ । अब भने पहिले विश्वव्यापीरुपमा सार्वजनिक गरेर मात्र गृहदेशमा सार्वजनिक गर्नेछ ।

‘दक्षिण कोरियामा ग्यालेक्सी एस ८ सार्वजनिक हुने दिन १४ अप्रिलबाट परिवर्तन भएर २१ अप्रिल भएको छ, यसो हुनुमा आपूर्ति तथा अन्य कारणहरु रहेको छ,’ एउटा मोबाइल नेटवर्क प्रदायकका उच्च अधिकारिले भने ।

यसअघि कम्पनीले आफ्ना फोनहरु प्रिसेलमा राख्ने गरेको थियो । यसअघि ग्यालेक्सी एस २ देखि एस ७ सम्मका फोनहरु अन्तिम ८ दिनसम्म प्रिसेलमा राखिएको थियो ।

सामसंगले आफ्नो नयाँ फ्ल्यागशिप एस ८ लाई प्रिसेलमा राख्नुभन्दा अगाडि गृहनगरमा एलजी जी६ (LG G6) को बजार प्रतिकृया हेर्न चाहेको छ ।

एलजीले पनि सामसंगको भन्दा अगाडि नै एलजी जी ६ स्मार्टफोन सार्वजनिक गर्दैछ । एलजीले जी ६ स्मार्टफोन स्पेनमा २६ तारिखमा सार्वजनिक गर्नेछ भने १० मार्चदेखि बिक्री शुरु हुनेछ । यो स्मार्टफोन २ मार्चदेखि ९ मार्चसम्म कोरियामा प्रिसेलका लागि राखिने बताईएको छ ।

एलजी र सामसंगका फ्ल्यागशिप सार्वजनिक हुने दिन करिब एक महिनाको अन्तरमा रहेको छ । सामसंगले एलजी जी ६ को बजारमा सकारात्मक प्रतिकृया प्राप्त गरेमा मात्र प्रिसेलमा राख्न सक्ने विश्लेषकहरुले अनुमान गरेका छन् ।

माध्यम स्रोत