द्रुतगतिमा पूर्वाधार विकास आवश्यक भएको दोस्रो पूर्वाधार सम्मेलनको निष्कर्श

काठमाडौं, ११ फागुन। नेपाल उद्योग परिसंघले दोस्रो पूर्वाधार सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताएको छ ।

पूर्वाधार सम्मेलन मार्फत विदेशी लगानी नेपाल भित्रिने वातावरण सृजना भएको बुधवार आयोजित पत्रकार सम्मेलन नेपाल उद्योग परिसंघले जानकारी दियो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले पूवार्धार सम्मेलन नेपालमा दशक अगाडि नै आयोजना हुनु पर्ने बताए । ढिलो भए पनि भविष्यमा हुने विकासका लागि यस प्रकारका सम्मेलन आवश्यक रहेको भन्दै शर्माले सम्मेलन देशलाई पूर्वाधार विकासमा अगाडि बढाउन गरिएको बताए ।

‘हामीले जनतालाई सपना बाड्नका लागि मात्र गरिएको हैन, सम्मेलनको प्रभाव तत्कालै नदेखिए पनि आगामी पिढीले यसको अनुभूति गर्ने छन्,’ शर्माले भने ।

‘पूर्वाधार सम्मेलनका माफतबाट विदेशी कम्पनीले पूर्वाधार विकासको क्षेत्रमा नेपाल भर्जिन देश भएको महशुस गरेका छन्,’ शर्माले थपे, ‘सरकारले लगानीका निम्ती सौहार्दपूर्वक वातावरण सृजना गरेमा नेपालमा विदेशी लगानी गर्नका लागि कम्पनीहरु इच्छुक रहेको पाइएको छ।’

देश विकासमा निजी क्षेत्रको समेत सहभागितामा दिगो र दरिलो पूर्वाधार सञ्जाल किन आवश्यक छ भन्ने सो सम्मेलनले प्रमाणित गरेको परिसंघको वुझाई छ । सम्मेलनमा भएका घोषणा र व्यक्त अभिव्यक्तिलाई नीति तथा कानूनमा आवश्यकताअनुसार सुधार गरि छिटोभन्दा छिटो कार्यान्वयनमा लैजान र यसका सबै सरोकारवाला निकाय र पदाधिकारीहरुलाई गम्भिर हुन आग्रह समेत गरेको छ ।

सम्मेलनको प्रमुख आकर्षणमध्ये एक पूर्वाधार बजार नेपाल लगानी बोर्डले लगानीका लागि तयारी अवस्थामा रहेका विभिन्न पूर्वाधार परियोजनाहरुको प्रदर्शन समेत गरेको थियो । त्यसैगरी, आइडिया स्टुडियोको सहकार्यमा संकलित पूर्वाधार विकाससम्बन्धी आइडियाहरुमध्ये १० आइडिया सम्मेलनमा प्रस्तुत भए र सर्वोत्कृष्ट ३ आइडियाहरु पुरष्किृत समेत भएको संघले जानकारी दियो ।