मोबाइल वित्तीय सेवाका लागि सक्षम कार्यक्रम र आईएमई डिजिटल सोलुसनबीच साझेदारी

काठमाडौं, ११ फागुन । आईएमई समूहको सहायक कम्पनी आईएमई डिजिटल सोलुसन र संयुक्त अधिराज्यको सहयोगमा सञ्चालित सक्षम कार्यक्रमका बीचमा डिजिटल सेवाको बारेमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । यसले मोबाइल फोनमा आधारित वित्तीय सेवाहरू प्रारम्भ गर्नका लागि आधारशीला तयार गर्ने जानकारी दिईयो ।

हस्ताक्षर कार्यक्रममा बोल्दै  नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जिबी नेपालले डिजिटल प्रविधिबाट वार्षिक करिब ५० अर्ब आम्दानी गर्न सकिने बताए । ‘यसप्रकारको नवीन विद्युतीय भुक्तानी प्रणालीको सुरुवातले वार्षिक झण्डै ५० अर्बसम्म सरकारी राजश्व बढाउने छ,’ उनले भने, ‘डिजिटल सिस्टमले आर्थिक पारदर्शिता वृद्वि गर्न सहयोग पुग्नेछ ।’

ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न यस्तो भुक्तानी प्रणाली निक्कै प्रभावकारी हुने भन्दै गभर्नर नेपालले नेपाल राष्ट्र बैंकले यस्तो नवीनतम कार्यमा पूर्ण सहयोग गर्ने उनले बताए ।

कार्यक्रममा नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष अनिल केशरी शाहले आईएमईले यसअघि नै रेमिट्यान्सको क्षेत्रमा आफ्नो क्षमता देखाईसकेको भन्दै अब डिजिटल सेवामा पनि यो सक्रिय हुने बताए । उनले हाम्रो वित्तिय क्षेत्र सहि दिशामा रहेको भन्दै आधुनिक डिजिटल सेवाले मानिसको जिवनको गुणस्तर बढाउन सकिने विश्वास व्यक्त गरे ।

आईएमई समूहका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालले देशविदेशमा बस्ने नेपालीहरूका बीचमा रकम ट्रान्सफर गर्ने सेवालाई आईएमईले आफ्ना एजेन्ट र साझेदारहरूमार्फत बैधानिक रूपमा मार्गप्रशस्त गर्न सफल भए जस्तै नयाँ डिजिटल वित्तीय सेवा मार्फत् वित्तीय सेवाभन्दा बाहिर रहेका जनतालाई सेवा पुर्याउने प्रतिबद्धता जाहेर गरे ।

आईएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराज ढकालले मोबाइल फोन मार्फत प्रदान गरिने यो डिजिटल वित्तीय सेवा संसारका अन्य विकसित मुलुकहरूमा प्रभावकारी र लोकप्रिय भए जसरी नेपालको पनि खास गरी ग्रामीण क्षेत्रका बैंक र वित्तीय क्षेत्रको पहुँच पुग्न नसकेका जनताका बीचमा प्रभावकारी र लोकप्रिय हुने बताए ।

सक्षमका समूह प्रमुख बलजित बोहराले  देशव्यापी रूपमा एउटा सम्पूर्ण मोबाइल वित्तीय सेवा सुरुवात गर्नका लागि नीति–निर्माताहरू, नियामक निकायहरू, बहुराष्ट्रिय संस्थाहरूका साथै बजारमा सक्रिय निकायहरूसित अहोरात्र खटिरहेको जानकारी दिए ।

सो साझेदारीले हाल नेपालभरि आईएमईको विप्रेषण सेवा लिइरहेका ६ लाख भन्दा बढी घरपरिवारका उपभोक्ताहरू तथा रेमिटेन्स सञ्जाल बाहिरका उपभोक्ता तथा गैर–रेमिटेन्स क्षेत्रलाई समेत मोबाइलमा आधारित वालेटको सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । यस अभियानमार्फत् आईएमईले वित्तीय सेवाबाट वञ्चित नगरोन्मुख/ग्रामीण क्षेत्र, न्यून बैंकिङ सेवा पाएका र बैंकिङ सेवाबाट वञ्चित समुदायसम्म पुग्नका लागि मोबाइल नेटवर्क सञ्चालकहरू, आफ्नै रेमिटेन्स एजेन्टहरू, वाणिज्य बैंकहरू, शाखारहित बैंकिङ सेवाका एजेन्ट र मर्चेन्टहरूसित साझेदारी गर्नेछ ।

कम्पनीले मोबाइलमा आधारित वित्तीय सेवा अर्थात् मोबाइल वालेट सेवा आरम्भ गरी पर्याप्त बैङ्किङ सेवा/बैङ्किङ सेवा पाउन नसकेका नेपालका जनतासम्म वित्तीय पहुँच पुर्याउनुका साथै नेपालको वित्तीय समावेशीकरणका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य समेत लिएको जानकारी दिएको छ ।