एप्पलले भारतमा ‘आइफोन एसई’ बनाउने, आइफोनको मूल्य घट्ने

काठमाडौं, ६ फागुन । एप्पलले भारतमा शुरु गर्ने एसेम्बल प्लान्टमा यसको सबैभन्दा कम मूल्य भएको आइफो एसई (iPhone SE) उत्पादन शुरु गर्ने भएको छ । एप्पलले आगामी केहि महिनाभित्रै भारतको बेंगलुरुमा स्थापना गरेको भारतीय प्लान्टमा आइफोन एसई उत्पादन गर्न लागेको हो ।

एप्पलको ताइवानी उत्पादन सहकर्मी कम्पनी विस्ट्रोन कर्पले आइफोनहरु मात्र एसेम्बल गर्ने उदेश्यले प्लान्ट लगाईरहेको छ ।

एप्पलले विश्वको तिब्रगतिमा बढिरहेको मोबाइल बजारलाई ध्यानमा राखेर यो प्लान्ट लगाएको हो । यसले यो क्षेत्रमा एप्पलको बजार हिस्सा बढाउने अपेक्षा गरिएको छ । अहिले यो क्षेत्रमा अन्य स्मार्टफोनहरु एप्पलको आइफोन भन्दा निकै सस्तो मुल्यमा उपलब्ध छन् ।

यसका साथै चीनलगायत एशियाका अन्य ठूला बजारहरुमा स्मार्टफोन बिक्रीको वृद्धिमा सुस्तता आएको छ ।
एप्पलले भारतीय लगायतका बजारहरुमा आइफोनको मूल्य न्यून गर्न स्थानियतहमा उत्पादन गर्न चाहेको छ भने भारतीय सरकारसँग ट्याक्सको विषयमा पनि कुराकानी गरिरहेको छ ।

यसअघि आएको समाचारअनुसार एप्पलले शुरुवाती चरणमा भारतमा ३० लाखदेखि ४० लाख आइफोन एसई सेटहरु एसेम्बल गर्नेछ ।

एप्पलले सन् २०१६मा भारतमा २.५ मिलियन आइफोन पठाएको थियो । बजार अनुसन्धान संस्था काउन्टरपोइन्टकाअनुसार चौथो चौमासिकमा एप्पल भारतीय बजारमा १० औं स्थानमा झरेको थियो तर पनि प्रिमियम फोन सेगमेन्टमा भने ६२ प्रतिशत बजार हिस्सा लिएको थियो ।

भारतीय बजारमा हाल सबैभन्दा सस्तो आइफोन अम्याजनको भारतीय साइटमा २८,४३३ भारतीय रुपिँया अर्थात ४२४ अमेरिकी डलरमा उपलब्ध छ ।

माध्यम