एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स् र फेसबुकको एसिया प्यासेफिक क्षेत्रकी प्रमुख प्रतिनिधि तथा ग्रोथ पार्टनरशिपकी प्रमुख आन्ना नाइग्रेनलगायत फेसबुक फ्री अफर घाेषणा कार्यक्रममा ।

एनसेलमा अब फेसबुक फ्रि, यसरी चलाउनुहाेस् नि:शुल्क फेसबुक

काठमाडौं, ३ फागुन । एनसेलमा अब फेसबुक निशुल्क चलाउन पाइने भएको छ । एनसेलका ग्राहकहरुले मोबाईल डाटा सपोर्ट गर्ने मोबाईल फोनबाट सामाजिक सञ्जाल फेसबुक निःशुल्क चलाउन पाउने भएका हुन् ।

फेसबुक फ्रि योजना अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले एन्ड्रोइड मोबाईल एप र ब्राउजर (प्रोक्सी बाहेक) बाट फेसबुकमा निःशुल्क आफ्नो स्ट्याटस पोस्ट गर्न, फोटाहरु अपलोड गर्न, अरुको स्ट्याटस हेर्न, लाईक, सेयर तथा कमेन्ट गर्न सक्नेछन् । एनसेलको यो अफर लागु भएपछि फेसबुक पेजमा ‘गो टु फ्रि’  बटन स्वतः देखिने छ । यो बटन  क्लिक गर्ने बित्तिकै, एनसेलका ग्राहकहरुले फेसबुकको निःशुल्क संस्करणबाट फेसबुक ब्राउज गर्न सक्नेछन । पेजमा दाहिने तर्फ ‘गो टु फ्रि’ बटन देखिन्छ भने देब्रे भागमा ‘यूअार इन डाटा माेड’ भनेर जानकारी दिनेछ ।त्यसैगरी ग्राहकहरुले फ्रि ब्राउजबाट पेड डाटामा पनि जान सक्ने छन भने त्यसको लागि छनौटको सुविधा रहेको एनसेलले जानकारी दिएको छ । याे पेजमा भने दाहिने तर्फ ‘सी फाेटाेज’काे बटन देखिन्छ भने देब्रे भागमा ‘यूअार इन फ्री माेड’ भनेर जानकारी दिनेछ ।

‘इन्टरनेट सबैका लागि’ थिम अन्तर्गत मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले फेसबुकसँगको सहकार्यमा आकर्षक योजना ‘फेसबुक फ्रि’ सार्वजनिक गरेको हो ।

एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स् र फेसबुकको एसिया प्यासेफिक क्षेत्रकी प्रमुख प्रतिनिधि तथा ग्रोथ पार्टनरशिपकी प्रमुख आन्ना नाइग्रेनले संयुक्तरुपमा फेसबुक फ्रि सार्वजनिक गरेका थिए ।

एनसेलकाे नयाँ अफर सार्वजनिक गर्दै एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स् ।

‘फेसबुकसँगको सहकार्यमा आफ्ना ग्राहकका लागि यो लोकप्रिय सामाजिक सञ्जाल निःशुल्क चलाउन पाउने योजनाले ग्राहकलाई सामाजिक सञ्जाल मार्फत देश विदेशमा रहनु भएका आफन्त, साथीभाई र परिवारजनसँग सजिलै सम्पर्कमा रहन र ईन्टरनेट सेवाको जनघनत्व बढाउन  मद्दत पुर्याउनेछ,’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने । हाल यो सुविधा एन्ड्रोयडमा आधारित फोनहरुमा मात्र उपलब्ध रहेको र आगामी दिनमा आईओएस तथा ओपेरालगायतका भर्सनमा पनि ल्याउने उनले जानकारी दिए ।

फेसबुकको एसिया प्यासेफिक क्षेत्रकी प्रमुख प्रतिनिधि तथा ग्रोथ पार्टनरशिपकी प्रमुख आन्ना नाइग्रेन एनसेलसँगकाे सहकार्य बारे बाेल्दै।

त्यसैगरी फेसबुकको एसिया प्यासेफिक क्षेत्रकी प्रमुख प्रतिनिधि तथा ग्रोथ पार्टनरशिपकी प्रमुख आन्ना नाइग्रेनले यो योजनाले नयाँ प्रयोगकर्ताहरु इन्टरनेट र फेसबुकमा आउने अपेक्षा गरिन् । उनले भनिन्, ‘यो सुविधाले इन्टरनेटको पहुँचबाट टाढा रहेका नेपाली जनताहरुलाई जोड्न सहयोग पुग्नेछ ।’

फेसबुक फ्रि अफर यहि बुधबार फागुन ४ गतेबाट लागु भई ९० दिनको लागि रहनेछ । यो अफर फेसबुकसँग विश्वब्यापी रुपमा उसको आन्तरिक प्रणालीसँग मिलाईएको हुनाले निःशुल्क संस्करणको प्रयोग गर्न ग्राहकले कुनै छुट्टै सेवा सुचारु गर्नु नपर्ने एनसेलले जानकारी दियो ।

अफरमा फेसबुकको अधिकांश फिचरहरु निःशुल्क उपलब्ध छन् । फेसबुकमा अरुले अपलोड गरेका फोटो तथा भिडियो हेर्नको लागि भने विद्यमान डेटा शुल्क लाग्ने छ । ग्राहकले आफुले ब्राउज गरिरहेको फेसबुक पेजको माथि दायाँतिर रहने ‘सि फोटोज’ बटन क्लिक गरी पेड संस्करणमा फोटो तथा भिडिया हेर्न सक्नेछन् । फेसबुकको फ्रि संस्करणबाट पेड संस्करणमा जानु भन्दा अगावै ग्राहकलाई सुचित पनि गराइने बताईएको छ ।

फेसबुकको पेड संस्करणमा फोटो तथा भिडियोहरु अझ सुलभ दरमा हेर्नका लागि ग्राहकहरुले फेसबुक पेजबाटै आफ्नो आवश्यकता अनुसारको डेटा प्याकहरु खरिद गर्न पनि सक्नेछन् ।

फेसबुकका अनुसार, हाल नेपालबाट ८० लाख भन्दा बढि मानिसहरु फेसबुकका माध्यमबाट सामाजिक रुपमा आवद्घ रहेका छन् ।

कसरी फेसबुक निशुल्क चलाउने ?

एनसेलको यो अफर लागु भएपछि फेसबुक पेजमा ‘गो टु फ्रि’  बटन स्वतः देखिने छ । यो बटन  क्लिक गर्ने बित्तिकै, एनसेलका ग्राहकहरुले फेसबुकको निःशुल्क संस्करणबाट फेसबुक ब्राउज गर्न सक्नेछन । पेजमा दाहिने तर्फ ‘गो टु फ्रि’ बटन देखिन्छ भने देब्रे भागमा ‘यूअार इन डाटा माेड’ भनेर जानकारी दिनेछ ।

त्यसैगरी ग्राहकहरुले फ्रि ब्राउजबाट पेड डाटामा पनि जान सक्ने छन भने त्यसको लागि छनौटको सुविधा रहेको एनसेलले जानकारी दिएको छ । याे पेजमा भने दाहिने तर्फ ‘सी फाेटाेज’ बटन देखिन्छ भने देब्रे भागमा ‘यूअार इन फ्री माेड’ भनेर जानकारी दिनेछ ।