सगुनको मिनी आइपिओ आजदेखि, नेपालमा पनि ३० करोड रुपैंया लगानी गर्दै

काठमाडौं, २७ माघ । सामाजिक स‌ंजाल सगुनले सर्वसाधारणबाट २ करोड डलर बराबरको लगानी उठाउनको लागि अनलाइन माध्यमबाट सेयर बिक्री शुरु गरेको छ । अमेरिकामा कार्यरत नेपालीको लगानीमा स्थापना भएकाे सामाजिक संजाल सगुनले फेब्रुअरी ९ तारिखदेखि सर्वसाधारणका लागि २ करोड अमेरिकी डलर बराबरको मिनी आइपिओ खुल्ला गरेको हाे।

आज काठमाडाै‌ंमा पत्रकार सम्मेलन गर्दै सगुनले विदेशमा बस्ने नेपालीसहित सर्वसाधारणले कम्तीमा २९९ डलर बराबरको सेयर किन्न सक्ने जानकारी दिएको छ । कम्पनीकाअनुसार प्रति कित्ता २३ डलरका हिसाबले १३ कित्ता सेयर किन्न सकिने छ ।

गत साता अमेरिकाको सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनकाे स्विकृतिपछि सगुनले ‘सी’ वर्गको ८ लाख ६९ हजार ५ सय ६४ कित्ता सेयर प्रति सेयर २३ डलरका हिसाबले सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । बिक्रीको लागी छुट्याइएका शेयरहरु सगुनको वेबसाइट www.sagoon.com/invest मार्फत सर्वसाधारणले खरिद गर्न सक्नेछन् ।

लगानीका लागि सगुनको वेबसाइटमा गएर फारम भरेपछि प्राप्त हुने इमेलको कपी आफ्नो बैंकमा लगेर सो कपीसँगै आफुले लगानी गरेको रकम बुझाएपछि बैंकले वायर ट्रान्सफरमार्फत लगानीकर्ताको पैसा अमेरिकामा रहेका सगुनका लागि काम गर्ने सेयर ब्रोकरहुँदै सगुनको खातासम्म पुग्नेछ । सेयर ब्रोकरले प्रमाणित गरेपछि मात्र सेयर लगानी सुनिश्चित हुने बतार्इएकाे छ ।

सगुनले यसअघि सिमित लगानीकर्तालाई कम्तीमा ५ हजार डलरका दरले ५० लाख डलर बराबरको सेयर बिक्री गरेकाे थियाे ।

नेपालबाट भने याे सेयरमा लगानी गर्न सकिँदैन् । नेपालको कानुनले बिदेशमा नेपालीले लगानी गर्न बन्देज लगाएका कारण नेपालबाट भने सगुनमा लगानी गर्न पाइने छैन । तर, विदेशमा बस्ने नेपाली र एनआरएनको लागि भने यो लगानीको अवसर भएकाे कम्पनीकाे भनाइ छ ।

त्यसैगरी यस मिनि आईपिओबाट उठाएको लगानी रकममध्ये केहि रकम नेपालमा विदेशिक लगानीमार्फत भित्रने कम्पनीले जानकारी दियो । नेपालमा अनुसन्धान केन्द्र क्याम्पस स्थापना गर्न र नेपालीहरुलाई रोजगारी दिने उदेश्यले करिब ३० करोड रुपैंया भित्र्याउने कम्पनीका नेपाल प्रतिनिधि अजयबाबु शिवाकोटीले बताए । ‘करिब ३० करोड रुपैंया बराबरको प्रोजेक्ट २०१७ भित्र एफडिआई मार्फत नेपालमा लगानी हुनेछ,’ उनले भने ।

यहि मे महिनामा मोबाइल एप्लिकेशन तयार पार्ने योजना कम्पनीको रहेको छ । उक्त मोबाइल एप भारतमा रहेको सगुन इण्डियामार्फत सार्वजनिक गरिने कम्पनीले जानकारी दियो ।

सगुनले शेयर बिक्री सुरु गर्नु अगाडि गरेको एक सर्वेक्षणमा विश्वभरबाट ४ हजार लगानीकर्ताले ७० लाख डलर बराबरको लगानीका लागि रुचि देखाएकाे कम्पनीले दाबी गरेकाे छ ।

सगुनले मिनी आइपिओबाट संकलन गरेको पैसा मोबाइल एप निर्माण, अनुसन्धान, स्मार्ट कार्डको सुरुवात, आफ्ना प्रयोगकर्ता बढाउनेलगायतका काममा खर्च गर्ने जनाएको छ । हाल सगुनका विश्वभर करिब ४ लाख बढि प्रयोगकर्ता छन् ।

सन् २०१५ मा सगुनको कम्पनी मुल्याङ्कन १ करोड पचास लाख डलर रहेकोमा हाल ९ करोड ३ लाख डलर छ ।