एनआरएनको लगानीमा पानस ब्राण्डको रेस्टुरेन्ट

Technology Khabar १० आश्विन २०७२, आईतवार

एनआरएनको लगानीमा पानस ब्राण्डको रेस्टुरेन्ट

काठमाडौं ।

काठमाडौं, ९ असोज । नयाँ बानेश्वरको मीनभवनमा गैरआवासीय नेपालीद्वारा प्रवद्र्धित रेस्टुरेन्टले सेवा शुरु गरेको छ । शनिवारदेखि सेवा सुरु गरेको रेस्टुरेन्टलाई चेन रेस्टुरेन्टको अवधारणाअनुसार अघि बढाइने लगानीकर्ताको भनाई छ । स्वाद, मूल्य, सत्कार, सरसफाइ सबै हिसाबले यसलाई उपत्यकाको उत्कृष्ट गन्तव्यको रुपमा स्थापित गर्दै पानसको चेन नै बनाउने उद्देश्य रहेको रेस्टुरेन्टका व्यवस्थापक धर्म पौडेलले बताए ।

रेस्टुरेन्टको सरसफाईप्रति ग्राहकलाई आश्वस्त पार्न यसको किचेन ग्राहकले प्रत्यक्ष देख्ने ठाउँमा राखिएको छ । यसमा रेमिटेन्स व्यवसायमा संलग्न गैरआवासीय नेपालीको लगानी छ । युरोपेली मुलुकबाट रेमिटेन्स कारोबार गरिरहेको कम्पनी पानस रेमिटका लगानीकर्ता यसमा संलग्न छन् । पौडेल पानस रेमिटका चिफ अपरेटिङ अफिसर हुन् । करिब ३५ लाख रुपैयाँ लगानीमा सुरु गरेको पहिलो आउटलेटमा एक दर्जन युवायुवतीले प्रत्यक्ष रोजगारी पाएको पौडलले जानकारी दिए ।

यसले आफ्नै रेसिपी अनुसार तयार गरेको परिकार ‘सर्भ’ गर्छ । सबै परिकार पारखीलाई पटकपटक चखाएर रेसिपी तयार गरिएको छ । निकट भविष्यकै उपत्यकाका विभिन्न भागमा आउटलेट विस्तार गर्ने र ‘सेन्ट्रल किचेन’को अवधारणा लागू गर्ने योजना छ । सेन्ट्रल किचेनले लागत घटाउने हुँदा मूल्य पनि सोहीअनुसार कम हुने पौडेलले बताए ।

easy care

प्रकाशित: १० आश्विन २०७२, आईतवार