अनलाइन पेमेन्ट कम्पनी ई–सेवा छैठौं वर्षमा

Technology Khabar १३ माघ २०७१, मंगलवार

अनलाइन पेमेन्ट कम्पनी ई–सेवा छैठौं वर्षमा

काठमाडौं ।

काठमाडौं, १३ माघ । अनलाइनबाट किनमेल र कारोबार गर्न सकिने सेवा प्रदान गर्दै आएको ई–सेवा पाँचौ वर्ष पूरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ । नेपालको पहिलो पेमेन्ट गेटवे ई–सेवा फोनपे प्रालिको उत्पादन हो ।

२०६७ सालदेखि सेवा सुरुवात गरेकोे ई–सेवा हालसम्म नेपालका ७५ वटै जिल्ला, ३ हजार भन्दा बढी गा.वि.स. र सबै नगरपालिकामा विस्तार भइसकेको कम्पनीले जानकारी दिएको छ । मोबाइल तथा इन्टरनेटबाट कारोबार गर्न सकिने प्रविधि मार्फत ई–सेवाले ३० लाख भन्दा बढी मानिसहरूमा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा आफ्नो सेवा पुर्याउन सफल भएको दाबी गरेको छ । ई–सेवामा एकाउन्ट खोलेर कारोबार गर्नेको संख्या मात्र अहिले ३ लाखको हाराहारीमा पुगेको छ भने देशभर रहेका करिब ९ हजार ई–सेवा जोन तथा पोइन्ट नेटवर्कमार्फत करिब ३० लाख व्यक्तिले सेवा पाइरहेका छन् । ई–सेवाको मोबाइल एप्लीकेशन डाउनलोड गरी मोबाइलबाट यो सेवा प्रयोग गर्नेहरूको संख्या करिब एक लाख भएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

ई–सेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलिले छोटो समयमा लोकप्रिय बनेको सेवालाई थप सुविधा बढाएर उपभोक्तामाझ आउने जानकारी दिए । ‘स्थापनाको छोटो समयमै शहरबजार देखि विकट गाउँबस्तीसम्म पुगेको सेवालाई अझै शशक्त रुपमा  थप सेवा सुविधाहरु वृद्धि गर्दै लगिनेछ,’ उनले भने, ‘अहिलेको तथ्यांक अनुसार  मोबाइल प्रयोगकर्ता २ करोड भन्दा बढी छन् । यो अवस्थालाई हेरेर निकट भविष्यमा कम्तिमा पनि एक करोड जनसंख्यामा हाम्रो सेवा पुर्याउने लक्ष्य लिएका छौ ।’

अत्याधुनिक किसिमको प्रविधि र तुरुन्तै ‘Real Time Basis’ कारोबार गर्न सकिने हुँदा यसको सेवा तिब्र रूपमा विस्तार भइरहेको हो । ई–सेवा भनेको मोवाइल तथा इन्टरनेटबाट किनमेल गर्न सकिने माध्यम हो । ई–सेवाको प्रयोगबाट विभिन्न किसिमका भुक्तानी गर्न, कसैलाई पैसा पठाउन, पाउन र तिर्न सकिन्छ ।

इन्टरनेट तथा मोवाइलबाटै सम्पुर्ण कारोबार गर्न सकिने हुनाले यो सेवा अत्यन्त सहज र सरल छ । ई–सेवा मार्फत् इन्टरनेट तथा मोबाइलबाट घरमै बसी मोवाइल रिचार्ज, टपअप, (प्रिपेड, पोष्टपेड, सिडिएमए)टेलिफोन, बिजुली, खानेपानी तथा इन्टरनेटको बिल भुक्तानी, डिसहोम रिचार्ज, टपअप लगायतका सेवा प्राप्त गर्न सकिन्छ । साथै देशका विभिन्न गन्तब्यमा जान हवाईजहाज तथा बस टिकट समेत खरिद गर्न सकिनेछ । अहिलेको अवस्थामा ई–सेवाले मुलुकका ५० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरूसँग सहकार्य गर्दै आएको जानकारी दिएको छ ।

कम्पनीले  हाल ई–सेवा एकाउन्ट नभएका ग्राहक, एकाउन्टमा रकम नभएको अवस्थामा सेवा लिन तथा एकाउन्टमा रकम जम्मा गर्न सहज तुल्याउन देशका ७५ वटै जिल्ला, ३ हजार भन्दा बढी गा.वि.स. र सबै नगरपालिकामा ८ हजार भन्दा बढि ई–सेवा जोन तथा पोइन्टहरूकोे स्थापना गरेको बताएको छ ।

easy care

प्रकाशित: १३ माघ २०७१, मंगलवार