निर्यात नबढाई आर्थिक प्रगति हुँदैन्ः अर्थमन्त्री डा महत

Technology Khabar १४ मंसिर २०७१, आईतवार

निर्यात नबढाई आर्थिक प्रगति हुँदैन्ः अर्थमन्त्री डा महत

काठमाडौं ।

काठमाडौं, १४ मंसिर । अर्थमन्त्री डा रामशरण महतले निर्यात बृद्धि बिना कुनै पनि मुलुकको आर्थिक प्रगति नहुने भन्दै निर्यात बृद्धि गर्न गुणस्तरीय उत्पादन बृद्धि गर्नुपर्ने बिचार व्यक्त गरेका छन् । नवलपरासीको गैडाकोटमा बिकु बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित २५ औं बार्षिक साधारण सभाको उद्घाटनका क्रममा उनले सो बिचार व्यक्त गरेका हुन् । उनले भने, अहिले निर्यातको युग हो । जापानलाई उछिनेर चीन अगाडि आउने कारण उसको निर्यात हो ।’

नेपालले पनि निर्यात बृद्धिका लागि भारतसँग बिद्युत व्यापार सम्झौता गरी बिद्युत उत्पादनलाई जोड दिएको उनको भनाई थियो । अर्थमन्त्री डा महतले नेपालले जलबिद्युतको निर्यात गरी आम्दानी बढाउन सक्ने बताए । सयौं बर्षदेखि बिद्युत उत्पादन भैरहेपनि नेपालले संभावनाको १ प्रतिशत बिद्युत उत्पादन गरिरहेको जानकारी दिदै उनले जलबिद्युतको विकासका लागि सरकारले दीर्घकालिन महत्वका निर्णयहरु गर्न थालिसकेको जानकारी दिए ।

विदेशी मुद्रा कमाउने मुलुक नै आगामी दिनमा प्रगति पथमा जाने भन्दै उनले सरकारले जलविद्युत र पर्यटनबाट विदेशी मुद्रा कमाउने र कृषि उत्पादन बृद्धि गरी आयात प्रतिस्थापन र पछि निर्यात बृद्धि समेत गरिने उल्लेख गरे । निर्यात बढाएपछि मात्र नेपालको अन्य मुलुकसँगको करिब ६ खर्बको व्यापारघाटा पनि घटाउन सकिने उनको भनाई थियो ।

लगानी बढाउन शान्ति सुरक्षा र लगानीको सुरक्षाका लागि सरकार कडा भएर आउने जानकारी दिदै उनले भने, लगानीलाई कतैबाट पनि अवरोध हुनुहुदैन । लगानीको सुरक्षाका लागि अव राज्यले कडा भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ ।’

सहकारी संस्थाहरुले सानाको हितमा काम गर्नुपर्नेमा जोड दिदै अर्थमन्त्री डा महतले बिचौलियाका कारण उत्पादकले मोल नपाएको र उपभोक्ताले बढी मूल्य तिनुपरिरहेको समस्याभित्र छिरेर सहकारीले अनुकरणीय काम गर्न सक्ने बताए । कृषि, तरकारी, फलफूल उत्पादनतिर लाग्न सहकारी संस्थाहरुलाई आग्रह गर्दै उनले आवश्यक परेको खण्डमा सरकार कर छुट दिन पनि तयार रहेको आश्वासन पनि दिए ।

सभासद सशांक कोइरालाले सहकारी संस्थाहरुले अनुकरणीय काम गरेको र आगामी दिनमा विश्वकै उत्कृष्ठ पुरस्कार पाउने गरी काम गर्न बिकु सहकारी संस्थालाई आग्रह गरे । उनले समाजको तल्लो बर्गको उत्थानका लागि सहकारीले काम गर्नुपर्नेमा जोड दिए ।

सहकारी आन्दोलनका अगुवा केशव बडालले सहकारीलाई संसारमै कर नलगाइएको भन्दै नेपालमा पनि कर नलगाउन र लगाइएमा पनि कम कर लगाउन आग्रह गरे । त्यसैगरी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी नेफ्स्कुनका अध्यक्ष ऋषिराज घिमिरेले पनि सहकारी संस्थाहरुमा कम कर लगाइएमा बढी कर असूल हुने बताएका थिए ।
बिसं २०४८ सालमा स्थापित बिकु बचत तथा ऋण सहकारी संस्थाले अहिले करिब १ अर्बको निक्षेप परिचालन गरिरहेको र करिब १५ हजार सेयरधनीहरुलाई सेवा पुर्याइरहेको जानकारी दिइएको थियो ।

easy care

प्रकाशित: १४ मंसिर २०७१, आईतवार