हङकङमा कृषिजन्य उत्पादनको निर्यात सम्भावना

Technology Khabar ३० श्रावण २०७१, शुक्रबार

हङकङमा कृषिजन्य उत्पादनको निर्यात सम्भावना

काठमाडौं ।

काठमाडौं, ३० साउन । नेपाल समुद्रपार निकासी पैठारी संघले हङकङका लागि नेपाली महावाणिज्यदूत महेश दाहालसँग हङकङसँगको व्यापार घाटा न्यूनीकरण, लगानी लगायतका विषयमा छलफल गरेको छ ।

बिहीबार आयोजित छलफलमा संघका सहभागीले हङकङसँगको व्यापार घाटा कम गर्ने उपायबारे महावाणिज्यदूत दाहालसँग छलफल गरेका हुन् । सो अवसरमा संघका अध्यक्ष रमेश गुप्ताले हङकङका व्यवसायीलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्नुपर्नेमा जोडदिए ।

नेपाली व्यावसायीले हङकङको भिसा प्राप्त गर्ने क्रममा झेलेका समस्याको समाधान खोज्न पनि अध्यक्ष गुप्ताले महावाणिज्यदूत दाहाललाई आग्रह गरे । नेपाली पासपोर्ट बोक्नेले हङकङमा थुप्रै समस्या झेल्नुपर्ने अवस्था रहेको सहभागीहरुको भनाइ थियो ।

जवाफमा महावाणिज्यदूत दाहालले भिसाको समस्या सल्टाउन आफू लामो समयदेखि प्रयासरत रहे पनि कुनै उपलब्धि हासिल नभएको जानकारी गराए । यस विषयमा आफूले चिनियाँ अधिकारीसँग समेत आग्रह गरेको उनले जानकारी दिए । खराब नियतका केही व्यक्तिले गर्दा हङकङका अधिकारीले सबैलाई शंकाको दृष्टिले हेरेको दाहालको भनाइ थियो ।

हङकङका व्यवसायीलाई नेपालमा लगानी गराउने विषयमा पनि आफूले प्रयास गरिरहेको उनले बताए । यहाँ लगानीको उपयुक्त वातावरण नरहेको गुनासो लगानीकर्ताले गर्ने गरेको भन्दै त्यहिपनि एक–दुईवटा उद्योग नेपाल आउन इच्छुक रहेको उनले जानकारी गराए ।

हङकङमा नेपाली वस्तुको निकासी बढाउन सक्ने सम्भावना भने प्रसस्त रहेको उनको भनाइ थियो । महावाणिज्यदूत दाहालका अनुसार हङकङमा सबै उपभोग्य वस्तु विदेशबाट आयात हुन्छ । उनीहरुको मागअनुसार आपूर्ति गर्न सक्ने हो भने नेपालका कृषिजन्य उत्पादन ठूलो परिमाणमा त्यहाँ पठाउन सकिने उनले बताए । अर्गानिक कृषि वस्तुको लागि त अझ राम्रो बजार रहेको तर, नेपालीले मागअनुसार आपूर्ति गर्न नसक्ने स्थिति रहेकोले ठूलो सम्भावना खेर गइरहेको उनको भनाइ छ ।

छलफलमा संघका अध्यक्ष रमेश गुप्तासहित, निर्वतमान अध्यक्ष अशोककुमार अग्रवाल, विशिष्ट सदस्य सतिषकुमार मोर, उपाध्यक्ष सुनिलकुमार धानुका (बंशल), महासचिव विनोद सेठिया, सचिव विजय मूल्मी, कोषाध्यक्ष प्रदीप राजगाढिया र कार्यसमिति सदस्यहरु मदन मित्तल र गोविन्द संघई सहभागी रहेका थिए ।

Global Bank
easy care

प्रकाशित: ३० श्रावण २०७१, शुक्रबार