‘६ एकान ६’ फिल्मले बाँड्यो बोनस

काठमाडौं, ९ भदौ । गत वर्षको हिट फिल्म ‘६ एकान ६’ले नाफा कमाएपछि कलाकार र प्राबिधिकहरूलाई बोनस दिएको छ । चलचित्रसँग सम्बन्धित सम्पुर्ण कलाकारहरु, प्राविधिकहरु तथा सहयोगीहरुलाई आईतबार साँझ ‘सक्सेश पार्टी’ आयोजना गरि लाभांश बाडिएको हो ।

फिल्म सफल हुनमा सम्पूर्ण प्राविधिक तथा कलाकारको मेहनत रहेको भन्दै रिलिजको सात महिना पश्चात बोनस बाँडेको हो । बोनस पाएका फिल्मकर्मीले रकम जे जती भएपनि सम्झना र माया नै ठूलोरहेको प्रतिकृया दिए । यस्तै उनीहरूले बोनस बाँड्ने सिस्टमले फिल्मक्षेत्रमा नयाँ तरंग ल्याउने आशा व्यक्त गरे ।

प्राविधिक तथा कलाकारहरुले गरेको मेहनतलाई सम्मान गरौं भन्ने अभिप्रायले बोनस वितरण गरेको निर्माता तथा अभिनेता दीपकराज गिरीले बताए । कार्यक्रममा सम्मान स्वरूप स्व.शिव रेग्मीलाई ५१ हजार रुपैंया प्रदान गर्ने घोषणा गरियो।

निर्माण युनिटका अनुसार देश तथा बिदेशबाट फिल्मले ७० लाख मुनाफा हात पारेको छ । कार्यक्रममा नयाँ चलचित्र ‘वडा नम्बर ६’ निर्माणको औपचारिक घोषणा पनि गरियो । वितरक गोपाल कायस्थले ‘वडा नम्बर छ’ निर्माणका लागि एड्भान्स स्वरूप रू. एक लाखको चेक निर्माता गिरीलाई दिए ।

चलचित्र युनिटले स्वं. शिव रेग्मीको परिवारलाई ५१ हजार, चलचित्र पत्रकार संघलाई रु १५ हजार र सुनकोशी बाढी पिडितहरुको लागि रु २५ हजार सहयोग गर्ने घोषणा पनि गरियो ।

चलचित्रको सक्सेस पार्टीमा चलचित्रका ६ जानै नायक तथा प्राविधिकहरु उपस्थितभएपनि निर्देशक दिनेश डिसी र नायिका नीता ढुंगाना भने उपस्थित थिएनन् ।